तपाईँ सुन्दै हुनुहुन्छः

अन्धकारबाट उज्यालोतर्फः चौदण्डीगढीको आँखा शिविरले फर्काएको जीवनको ज्योति

'दृष्टि फर्कियो, आत्मविश्वास जाग्यो'

उदयपुर। अन्धकारमा बितेका दिनहरू जब अचानक उज्यालोमा परिणत हुन्छन्, त्यो केवल आँखाले देख्ने क्षण मात्र हुँदैन । त्यो जीवन नै फेरि जन्मिएको अनुभूति हुन्छ। रौतामाई गाउँपालिका–२, बोदेकी चरिमाया तामाङका लागि यस्तै चमत्कारी क्षण चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविरमार्फत देखिएको छ ।

तीन वर्षभन्दा बढी समयसम्म आँखाको दुवै ज्योति गुमाएर जीवन बिताएकी चरिमायाका लागि संसार अन्धकारमै सीमित थियो। बिहान–साँझ, घर–आँगन, आफन्त–परिवार सबै केवल आवाज र स्पर्शका भरमा चिनिन्थे। आशा, सपना र आत्मविश्वास सबै हराएझैँ भएको त्यो जीवनमा आँखा शिविरले पुनः नयाँ बिहानी लिएर आयो।

तीन वर्षअघि आँखाको ज्योति हराएपछि चरिमायाको दैनिकी अरूको सहारामा निर्भर थियो। घरबाहिर निस्कन, अन्य काम गर्न वा भान्सासम्म पुग्नसमेत चरिमायालाई कठिन थियो।  उहाँलाई “आफू बोझ बनेको महसुस हुन्थ्यो,” उहाँले विगत सम्झिँदै भन्नु भयो । तर आज अवस्था पूर्ण रूपमा फेरिएको छ। आफ्नै आँखाले संसार देख्न पाउँदाको अनुभूति शब्दमा बयान गर्न सकिने खालको छैन । त्यो अनुभूति केवल महसुस गर्न सकिन्छ।

चरिमायाकी कान्छी छोरी सरिता तामाङका लागि यो शिविर केवल उपचार मात्र होइन, परिवारको जीवनमा फर्किएको उज्यालो हो। भावुक हुँदै सरिता भन्नु हुन्छ; “चौदण्डीगढी नगरपालिकाले निःशुल्क यसरी भगवान् रुपी कार्य गरेको प्रति हृदयदेखि नै धन्यवाद व्यक्त छ“ “हामीजस्ता गरिबका लागि डाक्टरहरू भगवान् भन्दा कम छैनन्। आमाले फेरि संसार देख्नुभएको छ, यो चमत्कार जस्तै हो,” सरिता भावुक हुँदै पुरानो कुरा सम्झनु हुन्छ ।  तर सबैभन्दा बढी भावुक बन्नु भएका चरिमायाका श्रीमान् कृष्णबहादुर तामाङ तीन वर्षभन्दा बढी समय श्रीमतीको हात समातेर हिँड्दा–हिँड्दा आफ्नै पाइला थाकिसकेको पीडा सुनाउनु हुन्छ। हरेक दिन उहाँको मनमा चिन्ता, डर र पीडाले भरिएको थियो।  आँखाभरि आँसु झार्दै उहाँले  विगत सम्झिनु भयो,  “तीन वर्ष पुरा भएर चौथो वर्ष लाग्दा आज श्रीमतीले मलाई देख्नुभयो। अब सायद मैले उहाँलाई डोर्‍याएर हिँड्नु पर्दैन होला।” त्यो क्षण उहाँका लागि केवल खुसी मात्र होइन, विगतका सबै पीडामाथिको जित पनि थियो। यो शिविरले उज्यालो फर्काइदिएको कथा भने केवल चरिमायाको मात्र होइन।

चौदण्डीगढी नगरपालिका–९, डुंगाहाकी ५० बर्सिया पनिया सदाको पीडा पनि कम गहिरो थिएन। आठ महिनाअघि अचानक दुवै आँखाको ज्योति गुमेपछि उनको संसार पनि अँध्यारो बनेको थियो। विपन्न परिवारकी पनिया सदाको जीविकोपार्जन गर्ने मेसो समेत आँखाको ज्योति सँगै गुमेको थियो । एउटा लौरोको सहारामा मात्र सामान्य हिँडडुल गर्ने पनियाको आत्मविश्वास दिनानुदिन खस्किँदै गएको थियो। घरपरिवार र समाजबाट टाढिँदै गएको अनुभूतिले उहाँको मनमा सताइरहन्थ्यो। तर आज अवस्था फेरिएको छ। आँखा शिविरपछि उहाँको दुवै आँखाले स्पष्ट देख्न थालेका छन्। लौरो छाडेर स्वतन्त्र रूपमा हिँड्न सक्ने हुनुभएकी पनियाको अनुहारमा अब मुस्कान फर्किएको छ। “अब त मलाई फेरि नयाँ जीवन पाएको जस्तो लाग्छ,” पनियाले आत्मविश्वास बलियो पार्दै बताउनु हुन्छ।

चौदण्डीगढी नगरपालिकाको पहलमा आयोजना गरिएको यो आँखा शिविर केवल एउटा स्वास्थ्य कार्यक्रम मात्र होइन, अन्धकारमा हराइरहेका जीवनहरूलाई उज्यालोतर्फ डोर्‍याउने मानवीय अभियान बनेको छ। यस्ता शिविरहरूले आँखाको ज्योति मात्र फर्काउँदैनन्, मानिसको आत्मबल, आत्मसम्मान र परिवारको खुसीसमेत पुनः जीवित गराउँछन्।

आज चरिमाया र पनियाजस्ता धेरै व्यक्तिहरूका आँखामा फेरि सपना देख्ने आँट पलाएको छ। अन्धकारबाट उज्यालोतर्फको यो यात्रा, वास्तवमै मानव सेवा, संवेदना र स्थानीय सरकारको जिम्मेवारीको सशक्त उदाहरण बनेको छ।

चौदण्डीगढी नगरपालिकाले हरेक वर्ष निरन्तर रूपमा बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको छ। नगरपालिकाका अनुसार विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत हालसम्म ७ हजारभन्दा बढी सर्वसाधारणको गाउँ–गाउँमै पुगेर आँखा परीक्षण गरिएको छ। तीमध्ये करिब एक हजार जनाको आँखाको सफल शल्यक्रिया भइसकेको नगरपालिकाले जनाएको छ। यस वर्षको शिविरमा अपेक्षाभन्दा धेरै मोतिया बिन्दुका बिरामी भेटिएको र डा. सन्दुक रुइतको टिम प्रत्यक्ष रूपमा सहभागी भएपछि बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले  बताउनुभयो। “डा. रुइतको टिम आउने खबर पाएपछि टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि आएका छन्,” उहाँले भन्नुभयो, “यसले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको छ।” चौदण्डीगढी नगरपालिकाको आयोजनामा गत पुस १९ गते देखी सञ्चालित शिविर मार्फत झन्डै साढे ४ सय मोतिया विन्दुका बिरामी पाइएको र उनीहरूको आँखाको शल्यक्रिया हिजो सोमबारदेखि सुरु गरिएको छ । हिजो एकै दिन १ सय ५१ जनाको आँखाको शल्यक्रिया सम्पन्न गरिएको थियो । जहाँ चरिमाया र पनियाजस्ताका धेरैले खुसी फर्किएको छ ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ग्रामीण तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button