पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशभक्तिको भावना सुदृढ बनाओस् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले स-साना, आपसी कलह र अस्थिरताले ग्रसित राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु नेपालको इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गर्नुभएको छ । नागरिकको समेत सल्लाह र सुझाव समेट्दै एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउनु पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वको उदाहरण भएको उहाँको भनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले वीर पुर्खाको त्याग, बलिदान र नेतृत्वका कारण नै नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक तथ्य आत्मसात गर्नुपर्ने बताउनुभएको छ । ऐतिहासिक एकीकरणले तयार पारेको आधारमा आजको सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले इतिहासका सकारात्मक शिक्षाबाट वर्तमान पुस्ताले मार्गदर्शन लिनु सभ्य समाजको पहिचान भएको बताउँदै पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र तथा सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले देशभक्तिको भावना सुदृढ गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्