तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाका २५ मतदानस्थल सडकको पहुँचबाट बाहिर

हुम्ला । जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जिल्लाका अधिकांश बस्तीमा सडक पुगे पनि अगामी फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका २५ वटा मतदान केन्द्र सडक पहुँच भन्दा बाहिरै रहेका छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र रुपमा अघि बढाएको जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरका २५ मतदान केन्द्रमा आवतजावत गर्न पैदलै हिँड्नुपर्ने अवस्था रहेको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार कर्णाली करिडोर तथा पालिका स्तरका अन्य सडकसँग नजोडिएका मतदान स्थलहरूमा अदानचुली गाउँपालिकामा २ वटा छन् । 

अदानचुली गाउँपालिका–४ को कुकुरफाल्ना जलविद्युत आयोजनाको पावर हाउस र ६ को गोठीपाटा सामुदायिक भवन मतदान केन्द्र रहेका छन् भने ताँजाकोट गाउँपालिकाको वडा नम्बर ५ को बानादेव र ३ को मासपुर गरेर २ वटा मतदान केन्द्र नै रहेका छन् यसैगरी चंखेली गाउँपालिकामा पनि २ वटा मतदान केन्द्र सडकको पहुँच बाहरि छन् । रारा आधारभूत विद्यालय मेखाला र डाँफे आधारभूत विद्यालय नेप्का मतदान स्थलमा सडक पहुँच छैन । 

यता जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको सरस्वती मावि जैर, लालीगुराँस मावि लिप्ने, धुम्चुली आवि कल्लास, स्वयम्भु निमावि बराई, ईश्वर आवि छ्यागी, अंशुवर्मा आवि राहदेव, निलकण्ठ प्रावि फुचा मतदान स्थल गरेर ७ वटा मतदान केन्द्र पुग्न हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको शैपाल हिमाल माध्यमिक विद्यालय मतदान स्थल स्याँडा मात्र सडक पहुँच बाहिर रहेको छ । खार्पुनाथ गाउँपालिकाको मालिका मावि लाली, शङ्कर आवि थाली, हुम्ला मावि राया, सीता मावि छिप्रा र मान्धारा मावि भकुन्डा मतदानस्थल गरी पाँच वटा मतदान स्थल जना पैदल हिँड्नु पर्नेछ । 

उता जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा पनि ३ वटा मतदान केन्द्र सडक पहुँच बाहिर रहेका छन् । निर्वाचन कार्यालयका अनुसार नाम्खाको नमोडोछुम आधारभूत विद्यालय ताङ्गिन, मोतीराम प्राथमिक विद्यालय खगालगाउँ र हिमालय प्राथमिक विद्यालय चाला मतदान स्थल सडक पहुँच बाहिर छन् भने फागुन २१ मै निर्वाचन हुने भए नाम्खा गाउँपालिका ५ लिमीका तिन वटै मतदान केन्द्रमा पनि गाडी जान सक्ने अवस्था छैन । 

लिमीका तीन वटा मतदान स्थलहरू सुनखानी प्रावि, हल्जी, भृकुटी प्रावि जाङ र हिमशिखर प्रावि तिल मतदान स्थल जान न्यालु लेकमा हिमपातले सडक अवरुद्ध भएर लिमी आउजाउ बन्द भई सकेकाले फागुनमा खोल्ने सम्भावना निकै न्यून छ । लिमीका मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुग्न हेलिकोप्टरको आवश्यकता पर्ने निर्वाचन अधिकृत रोकायाको भनाइ छ । 

उहाँका अनुसार मतदान केन्द्रमा आवश्यक पर्ने सामाग्री र सुरक्षाकर्मी, म्यादी प्रहरी लगायतका अन्य जनशक्तिलाई जान र आउन यी मतदान स्थलमा समस्या हुने आँकलन गर्न थालिएको छ । उक्त मतदान स्थलहरूमा सडकबाट एक घण्टा देखि ६ घण्टासम्मको पैदल हिँड्नुपर्ने अवस्था छ भने बाँकी मतान केन्द्रमा पनि आधा घण्टासम्म हिँड्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । आसन्न निर्वाचनका लागि जिल्लाभर ६० मतदान स्थल कायम गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button