सहिदहरूको शहादतबाट मुलुकमा संघीय गणतान्त्रिक व्यवस्था : नेता निधि
जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधान मन्त्री विमलेन्द्र निधिले सहिदहरूको बलिदानीको बलमा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर जनता मालिक भएको बताउनुभएको छ ।

काँग्रेसका नेता निधिले सहिद सत्यनारायण पाठकको ३८ औँ स्मृति दिवसको अवसरमा उहाँको जनकपुरधामको वडा नंं ८ स्थित सालिकमा आज श्रद्धाञ्जली अर्पण गर्दै सो कुरा बताउनुभयो । उहाँले जनताको हितका लागि जहानियाँ पञ्चायती कालमा शहादत दिनुभएका पाठकको योगदानको जति प्रशंसा गरे पनि कम हुने जनाउँदै उहाँको शहादतको बलमा नै २०४६ सालको जनआन्दोलन भएको बताउनुभयो ।
काँग्रेसका नेता निधिले पाठकलाई तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफ्नै हातले गोली हानेर हत्या गरेको बताउँदै नेपाली काँग्रेसले मुलुकमा लोकतन्त्र स्थापना भएपछि पाठकलाई सहिद घोषणा गरेको बताउनुभयो ।
उहाँले सहिदले जहिले पनि जनताको हितलाई केन्द्रमा राखेर शहादत दिने गरेको बताउँदै लोकतन्त्रको महाअभियानको रुपमा आउन लागेको फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।
श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य एवं प्रमुख सचेतक कुमरकान्त झा, प्रदेश सभाका सदस्य रामसरोज यादव, काँग्रेसका नेता गणेश तिवारी, पूर्व वडाध्यक्ष रमेश ठाकुर सहितका स्थानीय नेताहरू उपस्थित रहनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्