११ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलन सुरु
पोखरा । पर्यटनको राजधानी पोखरामा आजदेखि ११ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलन–२०८१ सुरु भएको छ । भगवान् गौतम बुद्धका उपदेश र धर्मदेशनालाई सङ्गीतबद्ध भजनमार्फत समाजमा प्रवाह गर्ने उद्देश्य सहित सम्मेलन सुरु भएको राष्ट्रिय ज्ञानमाला सङ्घका कोषाध्यक्ष राजभाइ शाक्य बताउनुभयो ।

हाल देशभर १४५ वटा ज्ञानमाला भजन मण्डली (खल:) रहेका छन् । तीमध्ये पोखरामा भइरहेको सम्मेलनमा ८५ वटा भजन मण्डलीका करिब १ हजार ५ सय प्रतिनिधि सहभागी भएको उहाँले जनाउनुभयो । सम्मेलनमा भारतको सिक्किमबाट समेत भजन टोली सहभागी भएको आयोजकले जनाएको छ ।
सम्मेलनको उद्घाटन नेपाल भिक्षु महासङ्घका केन्द्रीय अध्यक्ष भन्ते सोभित महास्थविरले गर्नुभयो । उहाँले हरेक व्यक्तिको खुशीका लागि मनोरञ्जन आवश्यक रहेको उल्लेख गर्दै ज्ञानमाला भजनले व्यक्तिमा ऊर्जा र सकारात्मक सोच पैदा गर्ने बताउनुभयो । भगवान् बुद्धले देखाएको मार्गमा मानव जाति हिँड्न नसक्दा नै दुःख बढेको उहाँको भनाइ थियो । राष्ट्रिय ज्ञानमाला सङ्घका अध्यक्ष रमना श्रेष्ठको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । सम्मेलनले पोखरा घोषणापत्र समेत जारी गर्ने भएको छ ।
सम्मेलनअघि धर्मशीला बुद्ध विहारबाट शान्ति र्याली निकालिएको थियो । र्याली पालिखेचोक, महेन्द्र पुल, चिप्लेढुंगा र न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा विभिन्न ज्ञानमाला भजन मण्डलीको सहभागिता रहेको थियो ।
यसैबिच, पोखरा ३ नदीपुरमा रहेको धर्मशीला बुद्ध विहारका प्रमुख भिक्षु धजवन्तोले पुनर्निर्माण कार्यको करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । करिब ६ करोड रुपैयाँको परियोजना अघि बढिरहेको विहारका सदस्य रविन कायस्थले बताउनुभयो ।
यही पुस २८ गतेसम्म सञ्चालन हुने ११ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलनले बुद्धका सन्देशलाई भजनमार्फत समाजमा फैलाउँदै धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनामा थप योगदान गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रिय ज्ञानमाला सम्मेलनको पहिलो संस्करण वि.सं. २०५० सालमा स्वयम्भू ज्ञानमाला भजन खलःले आयोजना गरेको थियो । त्यसयता पाल्पा, भक्तपुर, धरान, ललितपुर, बुटवल, कीर्तिपुर, पनौती, चाबहिल र बनेपा हुँदै अहिले पोखरामा ११ औँ सम्मेलन आयोजना गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्