तपाईँ सुन्दै हुनुहुन्छः

‘आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गरौँ’

वीरगञ्ज । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्ने कुरामा वक्ताहरूले जोड दिएका छन् ।

वीरगन्जमा आज सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगन्ज–एक विराट सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू विशेष गरी लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,” उहाँले भन्नुभयो ।

बाहाँले देशभर आपूर्ति हुने अधिकांश सामान वीरगन्ज हुँदै जाने गरे पनि केवल ढुवानी मार्गका रूपमा सीमित हुँदा यहाँका नागरिकले धुलो–धुवाँ सहनुपरेको र अपेक्षित सुविधा नपाएकोप्रति उहाँले असन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको बताउनुभयो । अब जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुत मार्ग निर्माणपछि वीरगन्जको तीव्र विकास हुने विश्वास व्यक्त गर्नुभयो । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगन्ज भन्सार कार्यालय जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ सहरले लिन नसकेको उहाँले बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगन्जसँगै पर्सा र बारा जिल्ला समेत प्रभावित हुने गरी सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताउनुभयो । तीनै तहका करको बोझका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगन्ज आफैँमा आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गर्नुभयो । 

वीरगन्जको पहिचान जोगाउन यहाँ रहेका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।

पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगन्जको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले पनि आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगन्जको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैङ्क वीरगन्जका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button