तपाईँ सुन्दै हुनुहुन्छः

 भिरिङ्गी रोग प्रभावित बिरामी उपचारका लागि भेरी अस्पतालमा 

नेपालगञ्ज । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो एक हप्तामा ११ जना सिफलिस (भिरिङ्गी) रोग प्रभावित बिरामीहरू उपचारका लागि अस्पताल पुगेका छन् । ती मध्ये करिब एक चौथाइ एसिम्पटोमेटिक अर्थात् लक्षण नभएका हुन्, जो वैदेशिक रोजगारीको क्रममा गरिने जाँचमा थाहा भएका थिए । बाँकी बिरामीहरूमा ANC , कन्ट्याक्ट ट्रेसिङ, वा सिम्पटोमेटिक अर्थात् लक्षण देखिएका केसहरू रहेका छन् ।

अस्पतालमा हाल VENUS अध्ययन २०२६’ नाम दिएर राष्ट्रिय महत्वको वैज्ञानिक अनुसन्धान सञ्चालन भइरहेको छ । उक्त अध्ययनको नेतृत्व अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईँले गरिरहनुभएको छ ।

डा. चापागाईंका अनुसार पछिल्लो समय समाजमा सिफलिस संक्रमण बढ्दो क्रममा रहेको देखिएको छ । उपचारका लागि आएका बिरामीहरू मध्ये केहीले पहिले नै उपचार पाइसकेका छन् भने केही हाल उपचारकै क्रममा रहेका छन् । पछिल्लो समय बिरामीहरूमा चेतना बढेकाले पनि अस्पताल आउने सङ्ख्या बढ्दै गएको उहाँको भनाई छ ।

भेरी अस्पतालमा यो अध्ययन सुरु भएपछि नयाँ उपचार विधि वा जानकारी पाइन्छ कि भन्ने जिज्ञासाका कारण पनि बिरामीहरू अस्पताल आइरहेको डा. चापागाईँले बताउनुभयो । उहाँका अनुसार यो अध्ययन केवल यौन रोगमा सीमित नभई समाजको संरचना, व्यक्तिगत बानी–व्यवहार तथा वैदेशिक रोजगारीसँग सिफलिस रोगको अन्तरसम्बन्ध केलाउने उद्देश्यसहित अघि बढाइएको हो ।

डा. चापागाईँले यौनाङ्गमा घाउ आएको वा पहिले आएको अनुभव भएका तथा वैदेशिक रोजगारीका लागि रक्त परीक्षणका क्रममा अनफिट भएका व्यक्तिहरूलाई एकपटक भेरी अस्पतालको ओपिडी नं. २२ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ । अस्पतालको छाला तथा यौनरोग विभागमा विशेष ‘VENUS CORNER’ स्थापना गरिएको छ । सिफलिस सम्बन्धि परामर्श, परीक्षण र उपचार सेवा त्यहाँबाट सुरक्षित, गोप्य र व्यवस्थित रूपमा प्रदान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button