तपाईँ सुन्दै हुनुहुन्छः

खजुरामा लागू औषध नियन्त्रणका लागि प्रहरी र स्थानीय सरकार संयुक्त रूपमा सक्रिय

बाँके ।बाँकेको खजुरा क्षेत्र लागू औषध कारोबार र प्रयोगकर्ताको केन्द्र बन्दै जान थालेपछि नियन्त्रणका लागि प्रहरी प्रशासन र स्थानीय सरकार संयुक्त रूपमा सक्रिय भएका छन्। खजुरा गाउँपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

खजुरा गाउँपालिकाको सामाजिक विकास समितिकी संयोजक कृष्णा कुमारी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा उपाध्यक्ष मन्जु मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दिपक पातली, उच्च अदालत तुल्सिपुर बाँकेका अधिवक्ता युगबहादुर गुरुङलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

खजुरा–३ स्थित नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको योग तथा तालिम हलमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी, पत्रकार र सुरक्षाकर्मी सहभागी थिए।

अन्तरक्रियामा खजुरा क्षेत्रमा लागू औषधको ओसारपसार, कारोबार र प्रयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि स्थानीय तह, प्रहरी, प्रशासन र समुदायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइयो।

गाउँपालिका अध्यक्ष बिकले लागू औषधले समाजलाई गम्भीर असर पारिरहेको भन्दै सचेतना, उपचार र कानुनी कारबाहीलाई सँगसँगै अघि बढाइने बताउनुभयो। उपाध्यक्ष मल्लले महिला, आमा समूह र समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले लागू औषध नियन्त्रण बहुआयामिक समस्या भएकाले सबै निकायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। प्रहरी नायब उपरीक्षक पातलीले चालु आर्थिक वर्षमा हालसम्म १२१ जना लागू औषध सेवनकर्तालाई पक्राउ गरिएको जानकारी दिँदै खजुरा क्षेत्रमा निगरानी र कारबाही थप कडा बनाइने बताउनुभयो।

कार्यक्रमका क्रममा खजुरा गाउँपालिकाले इलाका प्रहरी कार्यालय धनौली, खजुरालाई लागू औषध परीक्षण किट हस्तान्तरण गरेको छ। प्रेस सल्लाहकार चन्द्र बोहराले प्रहरी र स्थानीय सरकारको सक्रियताले नियन्त्रण अभियानमा सकारात्मक सन्देश गएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button