तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाबाट ३४ हजार ३ सय ७२ जनाले मतदानमा भाग लिन पाउने 

हुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको लागि हुम्लाबाट ३४ हजार ३ सय ७२ जनाले मतदानमा भाग लिन पाउने भएका छन् । 

जिल्ला निर्वाचन कार्यालय हुम्लाको तथ्याङ्क अनुसार फागुन २० गते सम्म १८ वर्ष पुरा भएका १८ हजार २१ पुरुष र १६ हजार ३ सय ५१ महिला गरी जम्मा ३४ हजार ३ सय ७२ जनाले मतदानमा भाग लिन पाउने सूचना अधिकारी जगदिश शाहीले बताउनु भयो । 

एक निर्वाचन क्षेत्र तथा ७ वटा गाउँपालिका भएको हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा ६ वटा मतदान स्थलमा जम्मा ४ हजार ८ सय ८९ जना मतदाता रहेका छन् । भने ५ वटा मतदान स्थल रहेको खार्पुनाथ गाउँपालिकामा ४ हजार १ सय ६९ जना मतदाताले उक्त निर्वाचनमा भाग लिन पाउने भएका छन् यस्तै चंखेली गाउँपालिकामा ६ वटा मतदान स्थल र ३ वटा मतदान केन्द्र रहेका छन् । 

९ मतदान स्थल र केन्द्र गरी त्यहाँ जम्मा ३ हजार ६ सय ८० मतदाता रहेका छन् यता जिल्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा २ वटा केन्द्र र ५ वटा मतदान स्थल गरी जम्मा ३ हजार ८ सय ६९ जना मतादाताले भाग लिने भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका भूगोलका हिसाबले निकै नै ठुलो भएकाले ६ वटा मतदान स्थल र ६ वटा मतदान केन्द्र रहेका छन् । उक्त गाउँपालिकामा जम्मा ३ हजार ५ सय २५ जना मतदाताले मतदानमा भाग लिन पाउने भएका छन् । 

मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा पनि ८ वटा मतदान स्थल र ४ वटा मतदान केन्द्र रहेको छन् जहाँ ६ हजार ९ सय ८१ मतदाता रहेका छन् । भने जिल्ला सदरमुकाम सिमकोटमा ८ वटा मतदान स्थल र १ केन्द्र गरी जम्मा ७ हजार २ सय ५९ जना मतदाताले आउने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन पाउने भएको बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button