पर्यटन विधेयकमा सरोकारवालाहरूसँग सुझाव
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक २०८१ माथि सरोकारवाला निकायका प्रतिनिधिसँग सुझाव लिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल पर्वतारोहण सङ्घ, होटेल एसोसिएसन नेपाल, क्यासिनो व्यवसायीहरू तथा पर्यटन क्षेत्रका विज्ञहरूले पर्यटन विधेयक २०८१ माथि सुझाव दिएका हुन् ।
बैठकमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फूर ग्याल्जे शेर्पाले विधेयमा पर्यटनको परिभाषादेखि पर्यटन क्षेत्रलाई सहज बनाउने गरी विधेयकमा रहेका प्रावधानहरू सच्याउन सुझाव दिनुभयो ।
छिमेकी मुलुक भारतबाट एक दिनको यात्रा गर्ने धार्मिक पर्यटकहरूलाई समेत विधेयकले सम्बोधन गर्नुपर्ने, पर्यटन व्यवसायको दर्ता अनुमति स्थानीय तहबाट उपलब्ध गराउने व्यवस्था गर्ने गरी विधेयक संशोधन आवश्यक रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
बैठकमा नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङकाजी शेर्पा, पर्यटन व्यवसायी ऋषि भण्डारी, डा. गणेश गुरुङलगायतले नेपालमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्वतीय पर्यटनलाई बढवा दिने प्रावधानहरू विधेयकमा समेटिनुपर्ने, होमस्टे र साना होटेल व्यवसायहरूलाई पनि पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा नियमन गरिनुपर्ने र दर्ता नगरीकन कुनै पनि पर्यटनसँग सम्बन्धित संस्थाहरू सञ्चालन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्ने गरी विधेयक अघि बढाउन सुझाव दिनुभयो ।
उहाँहरूले हिमालचुलीको नामाकरण र आरोहण खुल्ला गर्ने अलग अलग व्यवस्था गर्नुपर्ने भन्दै उहाँहरूले सात हजार मिटरभन्दा माथिल्लो उचाइका हिमाल चढ्नेहरूलाई समेत सगरमाथा आरोहणको अनुमति दिनुपर्ने व्यवस्था विधेयकमा समेट्न सुझाव दिनुभयो ।
बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले लामो समयपछि आएको पर्यटन क्षेत्र नियमन गर्ने विधेयकलाई विज्ञ तथा सरोकारवालाहरूसँग विस्तृत छलफल गरेर अघि बढाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्