तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । 

एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । 

अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिएको बताउनुभयो । 

एमालेले निर्वाचनका लागि यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमाले काठमाडौँले क्षेत्र न-२ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकजना भन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र न-२ मा मणिराज फुयाँल र क्षेत्र न-८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरेको छ । 

निरौलाका अनुसार काठमाडौँ क्षेत्र न-५ मा ईश्वर पोखरेलले चाहेको खण्डमा उहाँलाई नै उम्मेदवार बनाउने र नचाहेको खण्डमा अन्यलाई पनि उम्मेदवार बनाउन नाम सिफारिस गरिएको छ । उहाँले काठमाडौँ क्षेत्र न-१ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठ जना, काठमाडौँ क्षेत्र न-३ मा रामेश्वर फुयाँल, कृष्ण राईसहित ६ जना, क्षेत्र न-४ मा सचिव डा राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको बताउनुभयो । 

त्यसै गरी काठमाडौँ निर्वाचन क्षेत्र न-५ मा एमालेका नेता ईश्वर पोखरेलसहित आठ जना, क्षेत्र न-६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र न-७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र न-९ मा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र डा अजयक्रान्ति शाक्यसहित सात जना र क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button