तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा नहुँदा हिउँदे खेती प्रभावित, उत्पादन घट्ने आशङ्का

बाजुरा। बाजुरामा लामो समयदेखि वर्षा नहुँदा हिउँदे बालीमा गम्भीर असर परेको छ। खडेरीका कारण गहुँ, जौ, उवा तथा तरकारी बाली प्रभावित हुँदा किसानहरू चिन्तित बनेका छन्।

कतिपय ठाउँमा कार्तिक महिनामा लगाइएका बाली अहिलेसम्म पनि राम्रोसँग उम्रिन नसकेको तथा उम्रेका बालीको वृद्धि हुन नसक्दा उत्पादन घट्ने चिन्ता बढेको छ। विशेष गरी सिँचाइको सुविधा नपुगेका असिँचित जमिनमा खडेरीको असर बढी देखिएको छ। जिल्लाका सबै स्थानीय तहमा यो समस्या देखिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बडिमालिका नगरपालिका–६ का किसान गोरे लवारका अनुसार समयमा पानी नपर्दा खेत बाझिन थालेका छन्। “यसरी नै खडेरी लम्बिँदै गए भोकमरीको अवस्था आउन सक्ने छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा कुल दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये जम्मा २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन रहेको छ। तीमध्ये करिब १० हजार ४ सय ६० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएको छ भने १७ हजार ७ सय ८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुने गरेको तथ्याङ्क छ। तर जिल्लामा वर्षभरि सिँचाइ सुविधा पुगेको जमिन मात्र पाँच हजार २ सय ३५ हेक्टर रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीले जानकारी दिनुभयो।

सिँचाइको पहुँच सीमित र मौसम प्रतिकूल बनेका कारण उत्पादन घट्ने जोखिम बढेको छ। किसानहरूले तत्काल सिँचाइ व्यवस्था विस्तार तथा राहतका कार्यक्रम ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button