डिजिटल लापरवाही रोक्न जानकीमा विद्यार्थी केन्द्रित साइबर सचेतना
बाँक । जानकी गाउँपालिकाले माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने साइबर अपराधसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरेको छ। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै देखिएका साइबर अपराधका जोखिमबारे विद्यार्थीलाई जानकारी दिन तालिम आयोजना गरिएको हो।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि जानकी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले डिजिटल माध्यमको सानो लापरवाहीले पनि गम्भीर कानुनी समस्या निम्त्याउन सक्ने बताउनुभयो। उहाँले साइबर अपराध जानाजानी मात्र नभई अज्ञानतावश पनि हुन सक्ने भन्दै सही ज्ञान र सतर्कता आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले गाउँपालिकाभित्र रहेका ४५ वटै विद्यालयमा साइबर अपराधसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। विद्यार्थीस्तरबाटै सचेतना बढाउन सके साइबर अपराध नियन्त्रण सम्भव हुने उहाँको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइबर अपराध नियन्त्रण राज्यको मात्र नभई विद्यालय, अभिभावक र समुदायको साझा जिम्मेवारी भएको बताउनुभयो। शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले विद्यालय तहबाटै डिजिटल अनुशासन र कानुनी चेतना विकास गर्नुपर्नेमा जोड दिनुभयो।
तालिममा सामाजिक विकास संयोजक रामअचल धोबी, सूचना प्रविधि अधिकृत विकास जिसी र सहायक शिक्षा अधिकृत झुमी कुमारी वलीले साइबर अपराधले विद्यार्थीको पढाइ र मानसिक स्वास्थ्यमा पार्ने असरबारे जानकारी दिनुभयो।
तालिमका सहजकर्ता आइटी विज्ञ अंकित श्रीवास्तवले पासवर्ड सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर बुलिङ, अनलाइन ठगी तथा यौनजन्य साइबर अपराधबारे व्यावहारिक प्रशिक्षण दिनुभयो।
तालिममा सहभागी विद्यार्थी शज्या घिमिरेले साइबर अपराधका जोखिम र बच्ने उपायबारे स्पष्ट बुझाइ भएको बताउनुभयो।
जानकी गाउँपालिकाले विद्यार्थी केन्द्रित रूपमा सुरु गरेको यो अभियान साइबर अपराध नियन्त्रण र सुरक्षित डिजिटल वातावरण निर्माणतर्फको महत्वपूर्ण पहलका रूपमा लिइएको छ।








प्रतिक्रिया राख्नुहोस्