सामाजिक सद्भाव बिगार्ने माथि कडा कारबाही हुने : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेस प्रदेश सबै समुदायको साझा घर भएकाले सामाजिक सद्भाव कायम गर्न आग्रह गर्नु भएको छ ।
मुख्यमन्त्री यादवले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने भएकाले शान्ति र एकतामा खलल बनाउने कुनै कार्य नगर्न अपिल गर्नुभएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै उहाँले हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हिंसाले कहिल्यै समाधान नदिने भएकाले सदियौँ देखि मिलेर बसेको समाजमा विखण्डन गर्ने कार्य ठीक नभएको बताउनुभयो ।
धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने बताउनुभयो ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको बताउनुभयो ।
उहाँले सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न जो कोहीलाई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिँदै सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले समस्या समाधान सधैँ संवादबाट भएको स्मरण गर्दै द्वन्द्वबाट समाजको शान्ति भंग हुने बताउनुभयो ।
उहाँले पछिल्लो समय भएका क्षति र विध्वंसात्मक गतिविधिप्रति खेद व्यक्त गर्दै मधेस सधैँ शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीकका रूपमा रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्