तपाईँ सुन्दै हुनुहुन्छः

जाडो बढेसँगै बाँकेमा रगतको गम्भीर अभाव

बाँके । जाडो बढेसँगै बाँके जिल्लाका अस्पतालहरूमा रगतको गम्भीर अभाव देखिएको छ। चिसो मौसमका कारण रक्तदान गर्ने मानिस कम हुँदा समस्या बढेको हो।

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार जाडोमा रक्तदान कार्यक्रम घट्दा रगत संकलन कम भएको छ। “माग धेरै छ तर रगत पर्याप्त छैन,” उहाँले भन्नुभयो।

रगत नपाउँदा बिरामीहरू समस्यामा परेका छन्। भेरी अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले भने, “डाक्टरले तुरुन्त रगत चाहिन्छ भन्नुभयो, तर ब्लड बैंकमा छैन भनियो। उपचार नै रोकिएको छ।”

कोहलपुर शिक्षण अस्पतालमा उपचार गराइरहेकी एक महिलाले पनि दुई दिनदेखि रगत खोज्दै हिँड्नुपरेको बताउनुभयाे।

हाल नेपालगन्जमा दैनिक ६०–७० पिन्ट, कोहलपुरमा १५–२५ पिन्ट र खजुरामा ८–१२ पिन्ट रगत चाहिन्छ। तर संकलन मागभन्दा कम भइरहेको छ।

प्रादेशिक रक्तसञ्चार केन्द्रले सबैलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरेको छ। रगत अभाव कम गर्न रक्तदान अभियान अझ तीव्र बनाउने तयारी गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button