पेडारी नालामा चार लेन पुल, एक महिनाभित्र सञ्चालन लक्ष्य
बाँके।नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चार लेनको पुल निर्माणले तीव्रता पाएको छ। वर्षौँदेखि साँघुरो र जीर्ण पुलका कारण सानो वर्षामै आवागमन अवरुद्ध हुँदै आएको समस्याको समाधान हुने अपेक्षा गरिएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लिलाबहादुर भण्डारीका अनुसार एक महिनाभित्र नयाँ पुलबाट सवारी सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। उहाँका अनुसार निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सक्ने गरी प्राथमिकताका साथ निर्माण अघि बढाएको छ।
पुल निर्माणका लागि नारायणम निर्माण सेवासँग भ्याटसहित ८ करोड ९६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। सम्झौताअनुसार २०८३ वैशाख १८ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि समयसीमाभन्दा अगावै काम सक्ने प्रतिबद्धता जनाइएको छ।
खजुरामा चार लेन सडक विस्तार भइसके पनि पुरानो पुल साँघुरो र जीर्ण रहेकाले वर्षायाममा नालाको पानी सडकमा बग्दा पटक–पटक यातायात अवरुद्ध हुँदै आएको थियो। यसले दैनिक आवतजावत, व्यापार–व्यवसाय र आपतकालीन सेवामा समेत असर पार्दै आएको थियो।
निर्माणाधीन पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको हुनेछ। पुलको दुवैतर्फ दुई–दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ले लामो प्रतीक्षापछि पुल निर्माण सुरु हुनुले स्थानीयमा उत्साह थपिएको बताउनुभयो। गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले पनि पुल निर्माणले खजुराको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय सुरेश थापाका अनुसार पुल निर्माणपछि आवतजावत सहज हुनेछ। नेपाली कांग्रेसका युवा नेता असलम भाटले बाँके क्षेत्र नं. ३ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोरको पहलमा पुल निर्माणले गति लिएको बताउनुभयो।
पेडारी नालामा निर्माणाधीन चार लेन पुलले सुरक्षित आवागमन र स्थानीय विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्