तपाईँ सुन्दै हुनुहुन्छः

लगानीमैत्री वातावरण निर्माण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण सृजना गर्ने जिम्मेवारी राज्य, निजी क्षेत्र र समाज सबैको साझा भएको बताउनुभएको छ । 

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २५ औँ वार्षिक साधारण सभाको शनिबार नेपालगञ्जमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लगानीको वातावरण कमजोर बनाउने तत्त्वको गहिरो पहिचान गर्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले लगानीको वातावरण बिगार्ने कारणतर्फ आवश्यक ध्यान नपुगेको उल्लेख गर्दै अब त्यसमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । व्यवसायीलाई समस्या सिर्जना गर्नु राज्यको काम नभई समस्या समाधानका लागि अभिभावकको भूमिकामा उभिनु जिम्मेवार निकायको दायित्व भएको उहाँको भनाइ थियो ।

व्यवसायीहरू थप लगानी गर्न हिचकिचाइरहेको र पलायनको अवस्था देखिन थालेको भन्दै मुख्यमन्त्री आचार्यले चिन्ता व्यक्त गर्नुभयो । राज्यका सबै निकायमा रहेका व्यक्तिहरू जिम्मेवार र संवेदनशील हुनुपर्ने उहाँले जोड दिनुभयो । विभिन्न नाममा भइरहने आन्दोलनको प्रत्यक्ष असर उद्योगी व्यवसायीमा परिरहेको उल्लेख गर्दै यस किसिमको अराजकताले लगानीको वातावरण बिथोलिरहेको बताउनुभयो ।

उद्योगी व्यवसायीको समुचित संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उद्योगमा लगानी गर्ने वातावरण र लगानी सुरक्षाको सुनिश्चितता नहुँदासम्म उद्योगीहरू अन्योलमा पर्ने अवस्था सिर्जना हुने बताउनुभयो । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका आगजनी घटनाले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मझौला उद्योग सञ्चालनको अनुमति र नियमनको जिम्मेवारी लिएको जानकारी दिनुभयो । औद्योगिक क्षेत्र प्रदेश सरकारको प्रत्यक्ष मातहतमा नपरे पनि त्यहाँ देखिएका समस्या समाधानका लागि सरकार तत्पर रहेको उहाँले बताउनुभयो ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष एजाज आलमको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको साधारण सभामा देशभरका उद्योगी तथा व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

वि.स. २०१६ सालमा बालाजुमा पहिलो औद्योगिक क्षेत्र स्थापना भएपछि क्रमशः देशका विभिन्न स्थानमा औद्योगिक क्षेत्रहरू विकास हुँदै आएका छन् । हाल नेपालभर १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् । ती औद्योगिक क्षेत्रहरूमा विभिन्न प्रकृतिका करिब ७०० उद्योग सञ्चालनमा रहेका छन् । सबै औद्योगिक क्षेत्रहरूमा उद्योग संघ समिति क्रियाशील छन् भने ती सबैको प्रतिनिधिमूलक संस्थाका रूपमा केन्द्रिय स्तरमा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घ सक्रिय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button