तपाईँ सुन्दै हुनुहुन्छः

पर्सागढीमा २११ औँ विजय उत्सव भव्य रुपमा सम्पन्न

बीरगंज । अङ्ग्रेज फौजलाई पराजित गरी मुलुकको सार्वभौमिकता जोगाएको ऐतिहासिक युद्ध स्थल पर्सागढीमा शनिबार २ सय ११ औँ विजय उत्सव भव्य रूपमा मनाइएको छ । 

वि.सं. १८७१ पुस १८ र १९ गते गोर्खाली सेनाले ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजमाथि हासिल गरेको ऐतिहासिक जितको स्मरणमा पर्सागढी नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको हो ।

पर्सागढी नगरपालिकाको आयोजना तथा वीरगन्ज स्थित नेपाली सेनाको श्री जंग गणको सहकार्यमा पर्सागढीमा भव्य रुपमा विजय उत्सव मनाइएको हो ।

वि.सं. १८७१ पुस १९ गते बागवान्नाको स्थानीय बासिन्दा रञ्जित चौधरीको सहयोगमा वीर गोर्खाली सेनाले ब्रिटिस सेनाका कमाण्डर बेनेट मार्लीको टोलीमाथि विभिन्न युद्धकला लगाएर पराजित गरी हराएको ठाउँ भएकोले यसको ऐतिहासिक महत्वलाई जगेर्ना गर्न आजको दिनलाई विजय उत्सवको रुपमा मनाउने परम्परा रही आएको छ । 

पर्सागढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले नेपालको अन्य गढी जस्तै पर्सागढीको महत्व र विशेषता महत्वपूर्ण रहेकोले यसको संरक्षण र प्रवद्र्धनमा तिनै तहको सरकार जुट्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले पर्सागढीलाई पर्यटन प्रवर्द्धनको प्रमुख केन्द्र बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्न सरकार तयार रहेको समेत  प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले पर्सागढी हरपुर, जिगना, पचरुखी, बागेश्वरी तित्रौना र बागवन्ना गरी ५ वटा गाउँको धरोहर भएको बताउनुभयो । 

उहाँले १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सीमानामा आएर विश्राम गरी फस्ट जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जित चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिघयाई खोलामा बाधेर ऐतिहासिक रुपमा ब्रिटिस सेनालाई पराजित गरेको स्थान भएको कुरामा जोड दिनुभयो ।

गोर्खाली सेना र गाउँले मिलेर ग्रामीण क्षेत्रमा प्रयोग हुने खुकुरी, भाला लगायतका घरेलु हतियारले ब्रिटिस सेनामाथि विजय प्राप्त गरेको ठाउँ भएकोले आजको दिन पर्सागढीबासीका लागि अत्यन्तै महत्वपूर्ण रहेको पर्सागढी महोत्सव आयोजक समितिका संयोजक वृजमोहन चौधरीले बताउनुभयो ।

विजय उत्सवको अवसरमा पर्सागढी नगरपालिकाको कार्यालय हरपुरदेखि पर्सागढी मन्दिर स्थलसम्म बाजागाजा सहित नेपाली सेनाको टोलीले झाँकी समेत प्रदर्शन गरेको थियो । सो अवसरमा परम्परागत हतियारहरूको प्रदर्शन तथा थारु, यादव र मधेसी समुदायको भेषभुषा, परम्परा झल्कने गरी झाँकी प्रदर्शन नेपाली सेनाको तर्फबाट नेपालीको पहिचानको रुपमा रहेको खुकुरी प्रदर्शन समेत  गरिएको थियो ।

विजय उत्सवको अवसरमा आयोजित कार्यक्रममा पर्सागढीका पूर्व नगर प्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी, नेपाली सेनाको वीरगन्ज स्थित श्री जंग गणका सेनानी कुशल कार्कीको नेतृत्वमा रहेको नेपाली सेनाको टोली सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाहरूको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button