तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा ५ वटा मतदान केन्द्र थपिए

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि बैतडीमा ५ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन कार्यालय बैतडीका अनुसार जिल्लाको सिगास गाउँपालिका वडा नं ४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका वडा नं ७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका वडा नं ९को केदार आवि सीम्लोडासौँ, शिवनाथ गाउँपालिका वडा नं  ३ को श्रीपूर आधारभूत विद्यालय बछला  पाटन नगरपालिका वडा नं ५ को त्रिपुरेश्वर माविका कुलडामा मतदान केन्द्र थप भएको हो । 

यसैगरी एउटा मतदान केन्द्र काटिएको छ । मेलौली नगरपालिका वडा नं २ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुई वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र काटिएको हो । 

यसअघि २१० वटा मतदान केन्द्र रहेकोमा अब भने २१४ वटा मतदान केन्द्र भएको निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । मतदान स्थल भने साबिककै १२९ नै कायम रहेको उहाँले बताउनुभयो । 

निर्वाचन कार्यालयले स्थायी मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । स्थानीय, प्रदेश र संघ मातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाआश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी दयालले बताउनुभयो । 

बैतडीमा अहिले १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । यस वर्ष ६ हजार २१६ मतदाता थपिएका हुन् । यसअघि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button