तपाईँ सुन्दै हुनुहुन्छः

निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरीमा चाप

नेपालगञ्ज । बाँकेका दुई ठूला नेपालगञ्जस्थित सञ्जीवनी कलेज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आमा सुरक्षा कार्यक्रम बन्द छ ।वरपरका निजी दुई अस्पतालहरूमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा सुत्केरी सेवाको चाप अत्यधिक बढेको छ । सीमित जनशक्ति, शय्या र पूर्वाधारकै बीच भेरी अस्पतालले बढ्दो बिरामीको भार धान्न कठिनाइ भोग्न थालेको छ ।

भेरी अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१र८२ को पहिलो पाँच महिनामा २ हजार ६ सय ४० वटा सुत्केरी सेवा दिइएकोमा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यो सङ्ख्या बढेर ३ हजार २ सय ७५ पुगेको अस्पतालले जनाएको छ । यो अवधिमै करिब ६३५ वटा सुत्केरी सङ्ख्या वृद्धि भएको देखिन्छ । सामान्य सुत्केरी सङ्ख्या २०८१/८२ मा १ हजार ८ सय ३४ रहेकोमा २०८२/८३ मा बढेर २ हजार १ सय ४ पुगेको छ । सिजेरियन (शल्यक्रिया) सुत्केरी पनि झण्डै दोब्बरले वृद्धि भएको छ । सिजेरियन सुत्केरी ७०८ बाट बढेर १ हजार ५६ पुगेको छ भने  इन्स्ट्रमेन्टल डेलिभरी पनि ९८ बाट ११५ मा पुगेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार वरिपरि रहेका निजी ठूला अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा सेवाग्राहीहरू सरकारी अस्पतालमै केन्द्रित भएका छन् । ‘सेवाग्राहीको चाप अस्वभाविक रुपमा बढेपछि उपलब्ध स्रोत–साधनले सबैलाई गुणस्तरीय सेवा दिन स्वभाविक चुनौती हुन्छ नै, उहाँ भन्नुहुन्छ, ‘समय दिनुपर्ने बिरामीलाई पनि स्वास्थ्यकर्मीहरुले पर्याप्त समय दिन पाइरहनुभएको छैन ।’

चाप धान्न नसक्दा भेरी अस्पतालमै उपचार सम्भव हुने जटिल प्रकृतिका सुत्केरी केसहरू समेत बाध्य भएर अन्यत्र रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालले जनाएको छ । यसले बिरामी र आफन्तलाई थप आर्थिक तथा मानसिक भार पर्न गएको छ । अस्पताललाई पनि व्यवस्थापनमा चुनौती भइरहेको छ । निजी क्षेत्र र सम्वद्ध सरोकारवाला सरकारी निकायबीच समन्वय गरी आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन गर्न अत्यन्तै आवश्यक देखिएको छ । भेरी अस्पतालको यही जनशक्ति र पूर्वाधारले सुत्केरी सेवालाई प्रभावकारी गराउन गाह्रो हुने अस्पताल प्रशासन बताउँछ । आमा र नवजात शिशुको ज्यानसँग जोडिएको सेवामा देखिएको यो संकट समाधानका लागि सरकारले तत्काल दीर्घकालीन योजना र ठोस कदम चाल्नुपर्ने स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button