तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ५५० घरधुरीमा भूमिगत विद्युत् सेवा, ६५ प्रतिशत काम सम्पन्न

पोखरा । पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियानले तीव्रता पाएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालन भइरहेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको हालसम्म भौतिक प्रगति करिब ६५ प्रतिशत पुगेको छ।

आयोजना अन्तर्गत सेती पुलदेखि कुँडहरसम्म केही छुटपुट क्षेत्र बाहेक करिब ५५० घरधुरीमा भूमिगत तार बिछ्याएर विद्युत् सेवा सञ्चालनमा आइसकेको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो। आगामी ६ महिनाभित्र भूमिगत तार बिछ्याउने काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र बनाइएको उहाँले बताउनुभयो। “वर्षायाम अघि नै काम सक्ने गरी योजना अनुसार अघि बढिरहेका छौँ,” उहाँले भन्नुभयो।

विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको यो आयोजनाको काम ढिलो गरी २०८० वैशाखदेखि सुरु भएको हो। इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लाग्दा सुरुआती चरणमा प्रगति न्यून रहेकाले ठेक्काको म्याद दुई पटक थप गरिएको आयोजनाले जनाएको छ। भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउने काम करिब ३ अर्ब रुपैयाँमा ठेक्का लिएको हो, जसअन्तर्गत पोखरामा मात्रै करिब १ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ। डलरको मूल्य वृद्धि र काम ढिलाइका कारण लागत ८ देखि १० प्रतिशतसम्म बढ्न सक्ने इञ्जिनियर सुवेदीले बताउनुभयो।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म मुख्य क्षेत्रमा भूमिगत तार बिछ्याएर विद्युत् वितरण भइसकेको छ। सिर्जनाचोक, सभागृह, जिरो किलोमिटर र लेकसाइडको जरेबर क्षेत्रसम्म काम तीव्र रूपमा भइरहेको छ। जिरो किलोमिटरदेखि प्रसाङसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

न्यूरोड क्षेत्रको काम भने अन्य व्यस्त क्षेत्रको काम सकेपछि अन्तिम चरणमा केन्द्रित रूपमा गर्ने तयारी गरिएको छ। “व्यस्त बजार र धेरै घरधुरी भएकाले सेवा अवरुद्ध नहुने गरी काम अघि बढाइनेछ,” सुवेदीले बताउनुभयो।

आयोजना अन्तर्गत विमानस्थल प्रवेश मार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किलोमिटरसम्मको मुख्य राजमार्गसँगै सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक र न्यूरोड क्षेत्रका मुख्य तथा सहायक सडकमा तार भूमिगत गरिनेछ। विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइँदैछ।

अव्यवस्थित तार र पोलमुक्त शहर बनाउँदै पोखराको सहरी सौन्दर्य बढाउने उद्देश्यले आयोजना सञ्चालन गरिएको हो। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरी सडकमा न्यून क्षति हुने गरी तार जमिनमुनि बिछ्याइँदैछ। भूमिगत प्रणाली बढी क्षमतायुक्त र भरपर्दो हुने भएकाले बढ्दो विद्युत् माग धान्न उपयुक्त हुने प्राधिकरणको दाबी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button