तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

गुल्मी । गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी रहेकाले समस्या भएको छ । 

कहिलेकाहीँ दुई–चार जनाको सङ्ख्या तलमाथि भए पनि सयभन्दा माथि नै कैदीबन्दी कारागारले जेनतेन थेगेको छ । निकै पुरानो जीर्ण भवनमा संरचना बिस्तार गर्ने उपाय छैन । घाम नपर्ने चिसो ठाउँमा भएकाले कैदीबन्दीको चिसो मौसममा जीवन अझ कष्टकर छ । 

गुल्मीमा ‘घ’ श्रेणीको कारागार रहेको छ । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।

कारागारमा महिला ६ र २ आश्रित बालबालिकासहित १०५ पुरुष रहेका छन् । क्षमताभन्दा पाँच गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनको चुनौतीहरूको बारेमा बर्षेनी नियामक निकायबाट अनुगमन हुने गरे पनि नयाँ संरचना निर्माणमा कुनै पहल भएको छैन । 

ठाउँ अभावका कारण दुई तले सुत्न मिल्ने बेडहरू बनाएर सुताइको जेनतेन व्यवस्थापन गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले बताउनुभयो । तर, शौचालय, भान्सा, बाथरुम र भित्र उद्यमको काम गर्न निकै सकस भइरहेको कारागार प्रमुख पन्थीले गुनासो गर्नुभयो । कारागार संरचनाकै कारण महिला र पुरुष कैदीबन्दीहरुको छुट्टै भेटघाट गर्ने कक्ष र गेटहरू छैन । 

कारागारभित्र सुत्नकै लागि सकस भएकाले पुस्तकालय, टिभी, पत्रपत्रिकाको व्यवस्थापन समेत छैन । बाँसको सिन्का बनाउनेदेखि चौकोस, पलङसम्मको काम गर्ने जनशक्ति कैदीबन्दीमै भएकाले उत्पादित सामग्री राख्न नसकिएको कारागार प्रमुख पन्थीले गुनासो गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button