निर्वाचन आयोगमा स्थानीय तहका प्रतिनिधिसँग छलफल सम्पन्न
काठमाडौँ। निर्वाचन आयोगमा आज गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासङ्घका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल बैठक सम्पन्न भएको छ।
उक्त छलफलमा जिल्ला समन्वय समिति महासङ्घका कार्यकारी निर्देशक भरत कुमार भट्टराई, नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना र कार्यकारी निर्देशक कलानिधि देवकोटा तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधि रूपनारायण ढकाल र दीपा शर्माको सहभागिता रहेको थियो।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुन निर्माण र कार्यान्वयनको जिम्मेवारी पाएका स्थानीय तहहरूले स्थानीय भाषामा आधारित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी नागरिकको घरदैलोमा पुर्याउन सके मतदान प्रतिशत बढाउन र बदर मत घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।
उहाँले निर्वाचन सुरक्षाका विषयमा आयोगसँगको समन्वयमा नेपाल सरकारले पूर्ण तयारी गरिरहेको उल्लेख गर्दै सबैलाई सुरक्षाका दृष्टिले विश्वस्त रहन आग्रह गर्नुभयो।
उहाँले निर्वाचन आचारसंहिता जारी भएपछि सरकारी स्रोतको दुरुपयोग गरी मतदातालाई प्रभावित गर्न नदिइने स्पष्ट पार्दै नियमित विकास–निर्माणका कार्य भने नरोकिने जानकारी दिनुभयो। स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना अत्यावश्यक रहेको बताउँदै त्यसमा कुनै कमजोरी हुन नदिइने र सूक्ष्म अनुगमन गरिने उहाँको भनाइ थियो।
कार्यक्रममा माननीय निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्