तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएको छ।

कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।

घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् र घटनास्थलमै प्रदर्शन गरिरहेका छन्।

प्रहरीका अनुसार साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै थिए। सवारी साधन रोक्ने क्रममा प्रहरी र साहबीच मालसामान ओसारपसारको विषयलाई लिएर विवाद भएको बताइएको छ। सिटी सफारी चलाइरहेकै अवस्थामा साहमाथि गोली प्रहार भएको थियो।

स्थानीयवासीहरूले भने लेनदेनको विवादका कारण गोली हानिएको दाबी गर्दै विरोध जनाएका छन्।

घटनास्थलमा प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गर्दै मुचुल्का उठाउने काम गरिरहेको छ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहसँग दोहोरो गोली हानाहान भएको र त्यस क्रममा एक जनाको मृत्यु भएको दाबी गर्नुभयाे।
उहाँले भन्नुभयाे, “चोरीको सामान रहेको सवारी रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भयो, त्यसपछि एपीएफले जवाफी फायरिङ गरेको हो।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button