तपाईँ सुन्दै हुनुहुन्छः

मदिरा निषेधित दोलखाको दुई गाउँ !

दोलखा । दोलखाका दुई गाउँ अहिले मदिरा निषेधित गाउँ बनेका छन् । स्थानीय सरकार र समुदायको सक्रियता पछि दोलखाको स्याँखु र पैयुस्वारा मदिरा निषेधित गाउँ बनेको सिविन नेपालका विष्णु सुवेदीले बताए । 

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ४ मा पर्ने पैयुस्वारा र विगु गाउँपालिका वडा नम्बर– ५ मा पर्ने स्याँखुमा अहिले मदिरा पिउन, बिक्री वितरण गर्न र अन्यत्रबाट मदिरा पिएर गाउँ प्रवेश गर्न निषेध गरिएको सुवेदीको भनाई छ । 

फोरुर्ट नर्वे, सिविन नेपाल र ग्रामीण विकास टुकी सङ्घको साझेदारीमा दोलखाको कालिञ्चोक गाउँपालिकाको चार वटा वडा र विगु गाउँपालिकाको पाँच वटा वडामा सन् २००८ बाट परियोजना सुरु भएको थियो । सन् २०१५ बाट भने परियोजना अन्तर्गत ती वडाहरूमा ‘मदिरा न्यूनीकरण कार्यक्रम’ सुरु भई समुदाय स्तरमा चेतनामूलक अभियान थालिएको र लगभग १० वर्षको अवधिमा दुईवटा गाउँमा मदिरा निषेध गर्न राम्रै सफलता मिलेको सुवेदीको भनाई छ । 

दुई पालिकाको अन्य वडाहरूमा पनि मदिरा नियन्त्रण र निषेध अभियान क्रमशः सफल हुँदै गएको उनको भनाई छ । 

परियोजना अन्तर्गत दुई पालिकाको नौ वटा वडामा सन् २०१५ बाट मदिरा निषेधित अभियान सुरु गरिएकोमा कालिञ्चोक गाउँपालिका वडा नम्बर– ४ पैयुस्वारा र विगु गाउँपालिका वडा नम्बर– ५ स्याँखुमा करिब तीन वर्ष अघिबाट मदिरा निषेध अभियान सफल भएको सुवेदीको भनाई छ । 

करिब एक सय ३३ घर धुरी रहेको र निवार तथा मगरको बाहुल्यता भएको स्याँखुमा धेरैले स्थानीय मदिरा उत्पादनको लागि भट्टी सञ्चालन गरेका थिए । अभियान सुरु भएपछि उनीहरूले ती भट्टीहरू हटाएर गाउँलाई नै मदिरा निषेधित बनाएका छन् । स्थानीय स्तरमा मदिरा पसल सञ्चालन गर्दै आएकी लीला मगर मदिरा निषेधित अभियान सुरु भएपछि आफूले पसलै बन्द गरिदिएको बताउँछिन् ।

कानुनी रूपमा लाइसेन्स लिएरै मदिरा पसल सञ्चालन गरेको थिए, तर मलाई पैसा भन्दा मानिसको स्वास्थ्य ठूलो लागेर लाइसेन्स खारेज गरी पसल बन्द गरिदिए– लिलाले भनिन् । अहिले आफू मासु र तरकारी बिक्री– वितरणमा लागेको लिलाले बताइन ।

करिब ३९ घरधुरी रहेको र क्षेत्री– बाहुनको बाहुल्यता भएको पैयुस्वारामा मदिरा बिक्री– वितरण हुँदै आएकोमा अभियान सञ्चालन पछि गाउँ पूर्ण रूपमा मदिरा निषेधित भएको छ । सुरु– सुरुमा आफै मदिरा समेत सेवन गर्ने स्थानीय गोमा थामी परियोजनाको चेतनामूलक अभियान पछि कुरा बुझेर रक्सी बनाउने भाँडा नै बेचिदिएको बताउँछिन् ।

सिविन नेपालले कार्यक्रम प्रभावकारी भएपछि जनप्रतिनिधि, स्थानीय र कार्यक्रम सञ्चालक संस्थाको समेत अनुभव समेटेर ‘मदिरा र समाज’ नामको पुस्तक समेत प्रकाशन गरेको छ । सिविन नेपालका सामाजिक परिचालक केशव बुढाथोकी मदिरा निषेधित अभियानको लागि परियोजना र पुस्तक दुवै प्रभावकारी बनेको बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button