तपाईँ सुन्दै हुनुहुन्छः

‘चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि  हुन्छ’

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताउनुभएको छ । 

उहाँले ‘धेरै असामान्य’ वर्षको ‘दबाब’ को बाबजुद यस उपलब्धिलाई महत्त्वपूर्ण ठहर गर्नुभएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ ।

नयाँ वर्षको पूर्व सन्ध्यामा सीले एक शीर्ष राजनीतिक परामर्शदात्री निकायलाई सम्बोधन गर्दै यो घोषणा गर्नुभएको हो । वार्षिक विस्तार सरकारले तय गरेको आधिकारिक लक्ष्यसँग मेल खान्छ र सन् २०२४ मा रेकर्ड गरिएको पाँच प्रतिशत वृद्धि बराबर हुनेछ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र पछिल्ला वर्षमा बढ्दो दबाबमा परेको छ । उपभोक्ता विश्वास महामारी–प्रेरित गिरावटबाट पूर्ण रूपमा फर्किन सकेको छैन । रियल स्टेट क्षेत्रमा निरन्तर ऋण सङ्कट, औद्योगिक अत्यधिक क्षमता र वासिङ्टनसँगको व्यापार द्वन्द्वले दृष्टिकोण चुनौतीपूर्ण बनाएको छ ।

राष्ट्रपति सीले भन्नुभयो, “हामीले चुनौतीहरूको सामना गर्‍यौँ र लगनशील भई प्रयास गर्‍यौँ । आर्थिक र सामाजिक विकासका मुख्य लक्ष्यहरू सफलतापूर्वक प्राप्त गरिएका छन् ।” उहाँले वृद्धि दर करिब पाँच प्रतिशत पुग्ने अनुमान गरिएको र समग्र सामाजिक स्थिरता कायम रहेको जानकारी दिनुभयो ।

साथै, भ्रष्टाचार विरोधी अभियान ‘अथक रूपमा पछ्याइएको’ भन्दै उहाँले सरकारको प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो । विज्ञहरूले बेइजिङले मार्चमा हुने प्रमुख वार्षिक राजनीतिक भेलामा सन् २०२६ का लागि यस्तै वृद्धि लक्ष्य घोषणा गर्ने अपेक्षा गरेका छन् ।

बुधबार जारी डाटाले नीति निर्माताहरूका लागि सकारात्मक सङ्केत दिएको छ । डिसेम्बरमा कारखानाको गतिविधि विस्तारवादी क्षेत्रमा प्रवेश गर्दै आठ महिनाको सङ्कुचनको रेखा तोडेको देखिएको छ ।रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button