माछापुच्छ्रे टेनिसमा मेन्स सिङ्गल तर्फको उपाधि करनलाई
पोखरा । कास्की जिल्ला टेनिस सङ्घले पोखरामा आयोजना गरेको २२औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत मेन्स सिङ्गल तर्फको उपाधि करन बहादुर थापाले जित्नुभएको छ ।

पोखरा रङ्गशालामा भएको फाइनल खेलमा आयुष्मान् हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै करणले ८० हजार नगदसहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्नुभयो । उपविजेता हुनुभएका आयुष्मान्ले नगद ४० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो ।
त्यसैगरि ३५ वर्ष माथिको मेन्स सिङ्गल जितेन्द्र परियारले जित्नुभएको छ । फाइनल खेलमा सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उहाँले उपाधि आफ्नो पोल्टामा पार्नुभयो । जीतसँगै जितेन्द्रले नगद ६० हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा दोस्रो स्थान हासिल गर्नुभएका सन्तोषले ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
विजयी खेलाडीहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहबिच पुरस्कार वितरण गर्नुभयो । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो । उक्त अवसरमा नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षर समेत गरिएको प्रथम उपाध्यक्ष नवीन चालिसेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्