तपाईँ सुन्दै हुनुहुन्छः

स्तरीकरणको प्रमाण पत्र सहज रुपमा नवीकरण गर्ने वातावरण सृजना गर्न मन्त्री घिसिङसमक्ष व्यवसायीको माग  

पोखरा । पोखरामा विभिन्न समयमा निर्माण भएका पुराना होटल, घर तथा भवनहरूको निर्माण सम्पन्न प्रमाण पत्र नहुँदा व्यवसायीहरूले चाहेर पनि वातावरणीय अध्ययन गर्न पाएका छैनन् । जसले गर्दा पर्यटन कार्यालय एवम् विभागबाट गरिने स्तरीकरणको प्रमाण पत्र नवीकरण नहुँदा साना तथा मझौला होटल उद्योगहरूले विभिन्न समस्याहरू झेल्दै आउनु परेको हुँदा उक्त स्तरीकरणको प्रमाण पत्र सहज रुपमा नवीकरण गराउने वातावरण सृजना गर्न व्यवसायीहरूले सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ समक्ष माग गरेका छन् ।

पोखरा सडक महोत्सवको उद्घाटन गर्न आइतबार पोखरा आउनु भएका मन्त्री घिसिङसंग भेट गर्दै होटल संघ पोखरा नेपालकाे टोलीले उक्त माग सहित छ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । पोखरामा विभिन्न समयमा बनेका पुराना होटल तथा भवनहरूमा निर्माण सम्पन्न प्रमाणपत्र नपाउँदा व्यवसायीले वातावरणीय अध्ययनसमेत गराउन नसकेको र त्यसकै कारण होटल स्तरीकरणको प्रमाणपत्र नवीकरण अवरुद्ध भएको सङ्घको गुनासो छ । पर्यटन कार्यालय तथा विभागबाट हुने स्तरीकरण सम्बन्धी प्रक्रिया सहज नहुँदा साना तथा मझौला होटेलहरू कठिनाइमा परिरहेको सङ्घको तर्क छ।

सङ्घले ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो । संघका सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीको नेतृत्वमा मन्त्री घिसिङलाई छ बुँदे ध्यानाकर्षण पत्र बुझाइएपछि पर्यटन क्षेत्रले भाेगेकाे समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने माग राखेको संघका अध्यक्ष लक्ष्मण सुवेदीको बताउनुभयो । सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको सिमाङ्कन भए पनि आवश्यक बजेट अभावका कारण संरक्षण तथा विकासका काम अघि नबढेको उहाँले उल्लेख गर्नुभयो । वर्षायामको बाढी, पहिरो, ढल तथा अतिक्रमणले फेवाताल दिनदिनै सुक्दै पोखरीमा परिणत हुँदै गएको सङ्घको चिन्ता व्यक्त गरेको छ । सङ्घले आगामी आर्थिक वर्षको बजेटमा फेवाताल संरक्षण र सम्बद्र्धनका लागि पर्याप्त रकम विनियोजन गर्न सरकारसँग आग्रह गरेको समेत गरेको छ ।

जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल तथा पर्यटन व्यवसायीलाई पुनरुत्थानका लागि उचित राहतको व्यवस्था अझै हुन बाँकी रहेको उल्लेख गर्दै सङ्घले घोषणा गरिएको उद्योग सुविधा समेत कार्यान्वयन नभएको विषयमा असन्तुष्टि प्रकट गरेको छ । सङ्घले पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नति ढिलो हुँदा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै तोकिएको समयमा काम सक्न दबाब दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

भारतीय बोर्डरसम्म पोखरालाई सिधा जोड्ने फास्ट ट्रयाक निर्माण योजनालाई अघि बढाउनुपर्ने माग पनि सङ्घले मन्त्री घिसिङ मार्फत सरकार समक्ष पेस गरेको हो। पर्यटन क्षेत्र देशकै अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण क्षेत्र भएको सङ्घको ठहर छ । तर संरचनागत समस्या, कागजी प्रक्रिया, पूर्वाधारको ढिलाइ र संरक्षण चुनौतीले व्यवसायी निराश भएको भन्दै होटल सङ्घले तत्काल प्रभावकारी सरकारी कदम चाल्न आग्रह गरेको छ । व्यवसायीको गुनासो सुन्दै मन्त्री घिसिङले उहाँहरूको माग सम्बोधन गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने वचन दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button