तपाईँ सुन्दै हुनुहुन्छः

हाकिम नपाउँदा पञ्चेश्वर गाउँपालिका ठप्प, अध्यक्ष एक महिनादेखि सिंहदरबार धाउँदै

बैतडी । प्रमुख प्रशासकीय अधिकृत नहुँदा बैतडीको पञ्चेश्वर गाउँपालिकाको कामकाज ठप्प रहेको छ । दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतबिहिन रहेको गाउँपालिकामा कामकाज ठप्प रहेको हो ।

गत साउनमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँपालिकामा आएका दल बहादुर धामीको बैतडीकै मेलौली नगरपालिकामा सरुवा भएपछि पञ्चेश्वर गाउँपालिकाको कामकाज ठप्प रहेको हो ।

गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख प्रशासकीय अधिकृत लिन एक महिनादेखि सिंहदरबार काठमाडौँ धाइरहेका छन्। अधिकृत नहुँदा पालिकाका सबै कामकाज ठप्प रहेको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो ।

साउन अन्तिम साता पञ्चेश्वरको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामी आएकोमा कार्तिक अन्तिमतिर सरुवा गरेर बैतडीकै मेलौली नगरपालिका पठाइएको थियो । त्यसपछि पञ्चेश्वर नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन। गाउँपालिकाको काम नै ठप्प भएपछि अध्यक्ष चन्द प्रमुख प्रशासकीय अधिकृत खोजीमा एक महिनादेखि सिंहदरबारमा धाइरहेका हुन्।

गाउँपालिकाको सबै कामकाज ठप्प भएकाले यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने उहाँको माग रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button