वीरगन्जको स्वस्तिका सप्लायर्समा आगलागी,४५ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर –१६ स्थित लिङ्क रोडमा रहेको स्वस्तिका सप्लायर्समा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण सप्लायर्सको गोदाममा रहेका हार्डवेयर सामग्री जलेर नष्ट हुँदा ४५ लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
हिजो शनिबार भएकाले दिनभर पसल बन्द रहेको अवस्थामा आज बिहान करिब २ः१५ बजे आगलागी भएको जानकारी पाएको स्वस्तिका सप्लायर्सका सञ्चालक मनोज कुमार रौनियारले बताउनुभयो । उहाँका अनुसार छिमेकीले आगो लागेको खबर गरेपछि घटनास्थल पुग्दा पसलभित्र धुवाँ अत्यधिक भएकाले आगो नियन्त्रण गर्न गाह्रो भएको थियो ।

घटनाको जानकारी पाउनासाथ वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । करिब बिहान ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको रौनियारले जानकारी दिनुभयो ।
आगलागीले स्वस्तिका सप्लायर्ससँगै रहेका अन्य दुई वटा पसलमा समेत क्षति पुगेको छ । यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण खुल्न नसकेपनि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
घटनापछि क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्