लुम्बिनी–भारत सम्बन्ध मजबुत पार्न पत्रकारिताको योगदान महत्वपूर्ण: मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशका पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मोफसल पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस आवश्यक रहेको बताउनुभयो । फेस्टिभलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने उहाँको विश्वास छ ।
मुख्यमन्त्री आचार्यले नकारात्मक समाचार प्रवाह भए आपसी सम्बन्ध कमजोर हुन सक्ने भन्दै सम्मेलन र संवादले सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र तथा सामाजिक–सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । यस्तो सम्मेलन विकास र समृद्धिका लागि कोसेढुंगा सावित हुने उहाँको विश्वास छ ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा फेस्टिभल उद्घाटन गरिएको हो । महोत्सवमा नेपाल र भारतका पत्रकार, युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्