तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रदेशभरिका स्वास्थ्य संस्थाहरूलाई पूर्ण सतर्क रहन निर्देशन

जनकपुरधाम । शितलहर तथा जाडोबाट हुने स्वास्थ्य समस्याका विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभरिका स्वास्थ्य संस्थाहरूलाई पूर्ण सतर्क रहनका लागि निर्देशन दिएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानले मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहका स्वास्थ्य शाखाहरूसँग भर्चुअल संवाद गरेर चिसोबाट हुन सक्ने स्वास्थ्य समस्याका विषयमा छलफल र सतर्क रहन निर्देशन दिनुभएको हो ।

चिसो मौसम तथा शीतलहरका कारण जनस्वास्थ्यमा परेको प्रभावको मूल्याङ्कन, तयारी तथा पूर्व तयारीको समीक्षा गर्नुका साथै आवश्यक सहयोगका क्षेत्रमा विभिन्न स्वास्थ्य कार्यालयहरूसँग छलफल सम्पन्न भएको स्वास्थ्य निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

जनस्वास्थ्य प्रशासक र मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निलाराम्ब अधिकारी उपस्थितिमा भएको सो कार्यक्रममा स्वास्थ्य संस्थाहरूले विभिन्न समस्याहरूका विषयमा निर्देशनालयको ध्यानाकर्षण गराएका थिए ।

सहभागीहरूले जोखिममा रहेका जनसमूहलाई प्राथमिकता दिनुपर्ने, स्वास्थ्य संस्थाहरूको तयारी सुनिश्चित गर्नुपर्ने, एम्बुलेन्स सेवा, अस्पताल सञ्जाल तथा बफर स्टक मजबुत बनाउनुपर्ने र महिला स्वास्थ्य स्वयंसेविका, आईईसी सामग्री तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

बैठक निरन्तर समन्वय, जलन र सडक दुर्घटनासम्बन्धी तयारीबारे आगामी छलफल, साझेदारहरूसँग स्रोत नक्साङ्कन, तथा थप सहयोग आवश्यक भए प्रदेशलाई औपचारिक रूपमा जानकारी गराउने प्रतिबद्धता सहित सम्पन्न भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button