समाजसेवा भन्दा ठूलो धर्म केही छैन : पूर्व राष्ट्रपति यादव
जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समाज सेवा भन्दा ठूलो धर्म अरू केही नभएको बताउनुभएको छ ।

समाजसेवी तथा शिक्षा प्रेमी गङ्गाराम यादवको अग्रसरतामा धनुषा जिल्लाको दुर्गम क्षेत्र हंसपुर नगरपालिका–६, टिल्ही स्थित तपसी बाबा कलेजमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले सामाजिक तथा शिक्षाको क्षेत्रमा गङ्गाराम यादवले गर्नुभएको योगदानको सराहना गर्दै स्वास्थ्य शिविरमा भारतको दिल्लीका मेधान्ता अस्पतालका विशेषज्ञ चिकित्सक मगाएर ठूलो गुन लगाउनुभएको बताउनुभयो ।
उहाँले यस क्षेत्रका युवाहरूले कृषि कर्म छोडेर विदेश जाने प्रवृत्ति बढ्दै गएका कारणले मधेश प्रदेशका जिल्लाहरूमा धेरै सामाजिक विकृतिहरू उत्पन्न भएको बताउँदै बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझाव दिनुभयो ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले यो दुर्गम क्षेत्रमा विशेषज्ञ सहितको बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरणको कार्यक्रम गरेर निक्कै सराहनीय काम भएको बताउँदै शिविरमा उपचार गराएर स्वास्थ्य लाभ लिनका लागि सवैमा आग्रह गर्नुभयो ।
हंसपुर नगरपालिकाका उपप्रमुख दुर्गी देवी मण्डलले हंसपुरमा नेपाल–भारतका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा शुरु भएको स्वास्थ्य शिविरबाट लाभ लिनका लागि सबैमा आग्रह गर्नुभयो ।
शिविरका आयोजक समाजसेवी गङ्गाराम यादवले यस क्षेत्रका गरिब तथा विपन्न जनतालाई दिल्ली तथा काठमाडौँको उपचार यसै ठाउँमा निःशुल्क रुपमा जनताले लिन सकोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताउनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा नेपाली चिकित्सकको तर्फबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. दिग्विजय कुमार ठाकुर, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदन कुमार महरा, वरिष्ठ चिकित्सक डा. गौराङ्ग मिश्र, जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्ग प्रसाद साह सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
भोलीसम्म चल्ने स्वास्थ्य शिविरमा मुटु, मृगौला, बाझोपन, स्त्री, बाल रोग, नाक कान,घाटी, हाडजोर्नी, आँखाका साथै सामान्य उपचारसहित निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्