सरकारद्वारा शीर्ष नेताहरूसँगको संवाद तीव्र, मन्त्री खरेल देउवापछि ओलीसँग भेटवार्तामा

काठमाडौँ । सरकारको राजनीतिक दलसँगको संवाद समितिका सदस्य रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास भक्तपुर गुण्डुमा भेटवार्ता गर्नुभएको छ ।
यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगन्जस्थित निवासमा भेटवार्ता गर्नुभएको थियो । अध्यक्ष ओलीसँगको भेटपछि मन्त्री खरेलले आजै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउने क्रममा सरकारका तर्फबाट प्रमुख दलका शीर्ष नेताहरूसँगको संवाद तीव्र बनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा हालै प्रधानमन्त्री सुशीला कार्कीसहित तीनै नेताहरूबिच भेटवार्ता भएको थियो । त्यसअघि सरकारका तर्फबाट भदौ २४ गते ध्वस्त बनाइएका दलका कार्यालयहरूको समेत मन्त्री खरेलसहितको टोलीले निरीक्षण गरेको थियो । शीतल निवास बैठकपछि अब प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग छलफल गर्ने सहमति भए अनुसार त्यसकै लागि वातावरण बनाउन मन्त्री खरेलले शीर्ष नेताहरूसँग वार्ता गर्नुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्