उखु बिक्रीमा स्वतन्त्रता माग्दै रौतहटका किसान आन्दोलनमा
रौतहट। मधेश प्रदेशका चिनी उद्योगीहरूले उखु खरिद–बिक्रीमा सिन्डिकेट लागू गरेको आरोप लगाउँदै रौतहटका किसानहरूले आन्दोलनको घोषणा गरेका छन्।
रौतहट, बारा, पर्सा र सर्लाहीमा सञ्चालित चिनी उद्योगहरूले आफ्नै जिल्लामा मात्र उखु खरिद गर्ने निर्णय लागू गरेका छन्। यस निर्णयका कारण किसानले आफूले चाहेको उद्योगमा उखु बेच्न नपाउने समस्या उत्पन्न भएको छ। विशेष गरी रौतहटका किसानहरू अब जिल्ला भित्र सञ्चालन हुने एक मात्र उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इण्डस्ट्रिजमा मात्र उखु बेच्न बाध्य छन्।
फतुवा विजयपुर नगरपालिका–९, विजयपुर बजारमा सयौँ किसान भेला भई सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन्। भेलामा किसानहरूले सिन्डिकेट नहटाइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र प्रसाद यादवले किसानको उत्पादन आफूले चाहेको उद्योगमा बिक्री गर्ने अधिकार रहेको र उद्योगीहरूले सिन्डिकेट लगाएर हस्तक्षेप गरेको आरोप लगाए। एमाले नेता शिवपुजन यादवले विगतमा किसानले इच्छित उद्योग रोजेर उखु बिक्री गर्ने गरेको तर अहिले यस्तो अवस्था रोकिएको बताउनुभयो।
किसान विजय अधिकारीका अनुसार, समाधान नआउन्जेल उखु काटेर बिक्री नगर्ने र खेतमै राख्ने निर्णय गरिएको छ। भेलाले कांग्रेसका ज्ञानेन्द्र प्रसाद यादवको अध्यक्षतामा ५१ सदस्यीय उखु उत्पादक किसान संघर्ष समिति गठन गरेको छ। समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र माग नसुने चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको छ।
यसैबीच, उद्योगी बैजु प्रसाद बाबराले आफ्नो उद्योगले किसानमाथि कुनै सिन्डिकेट नलगाएको र किसानमैत्री रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्