तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय रंगशालाको सपना अधुरै, कोहलपुरको मैदान गौचरनजस्तो

बाँके। कोहलपुरमा निर्माणाधीन एक हजार दुई सय दर्शक क्षमताको क्रिकेट रंगशाला अझै अधुरो अवस्थामा छ । आवश्यक पूर्वाधार नबन्दा रंगशाला खेल मैदानभन्दा बढी गौचरनजस्तै देखिन थालेको छ ।

चार बिघा १९ कट्ठा क्षेत्रफलमा फैलिएको मैदान बाहिरबाट हरियालीले ढाकिएको देखिए पनि भित्र आवश्यक संरचना छैनन् । अन्तर्राष्ट्रियस्तरको पिच, चेन्जिङ रुम, बाथरुम, मैदान लेबलिङ र ग्राफ्टिङको अभाव छ । पर्खाल र प्यारापिटबाहेक रंगशालाका अन्य संरचना पूरा हुन सकेका छैनन् ।

खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको भए पनि बजेट प्रभावकारी रूपमा प्रयोग हुन नसकेको स्थानीयको गुनासो छ । हालको अवस्थामा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्नसमेत मैदान उपयुक्त छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले आवश्यक पूर्वाधार नहुँदा प्रतियोगिता आयोजना गर्न नसकिने बताए । “क्रिकेट मैदानमा पिच, चेन्जिङ रुम, बाथरुम, लेबलिङ र ग्राफ्टिङ अनिवार्य हुन्छ । अहिलेको अवस्थामा यहाँ जिल्लास्तरीय खेल पनि सम्भव छैन,” उनले भने ।

नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बनाइएको अस्थायी मैदानलाई पछि कोहलपुर नगरपालिकाको सहयोगमा पुनर्निर्माण गरिएको थियो । तर त्यो प्रयास दीर्घकालीन समाधान बन्न सकेन ।

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यका अनुसार आठौँ राष्ट्रिय प्रतियोगिताका लागि बनेको पिच भत्काएर १० लाख रुपैयाँ खर्चेर नयाँ पिच निर्माण गरिएको हो । नगरपालिकाले पिच तथा अन्य संरचनाका लागि ३० लाख रुपैयाँ विनियोजन गरे पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुन सकेन ।

सबैभन्दा ठूलो कमजोरी पिचमै देखिएको छ । क्रिकेटका लागि आवश्यक कालो माटोको सट्टा रातो माटो प्रयोग गरिएको छ । एलबी क्षेत्रीका अनुसार रातो माटोको पिचमा राष्ट्रिय स्तरको प्रतियोगिता पनि आयोजना गर्न सकिँदैन ।

नगरपालिकाको सहयोगमा मध्यपश्चिम क्रिकेट क्लबले दुईकोठे चेन्जिङ रुम, दुई कोठाको बाथरुम र टिकटघर निर्माण गरेको छ । तर यी संरचनाले रंगशालाको स्तर उकास्न पर्याप्त नभएको सरोकारवालाको भनाइ छ ।

आवश्यक लगानी, प्राविधिक मापदण्ड र स्पष्ट योजना नबनाएसम्म कोहलपुरको क्रिकेट रंगशाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको केन्द्र बन्ने सम्भावना कमजोर देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button