तपाईँ सुन्दै हुनुहुन्छः

सिङ्गो मुसहर बस्तीमा छैन शौचालय

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित मुसहर बस्तीमा शौचालयको व्यवस्था नहुँदा स्थानीय बासिन्दा आज पनि खुला ठाउँमा शौच गर्न बाध्य छन् । शौचालयविहीन जीवन बिताइरहेका बस्तीवासीको दैनिकीले राज्यको ‘खुला दिशामुक्त’ घोषणामाथि गम्भीर प्रश्न उठाएको छ । 

नेपाल सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर निर्माण गरिदिए पनि शौचालयको व्यवस्था नगर्दा करिब ९० घरधुरीका बासिन्दा खेतबारीमै शौच गर्न बाध्य छन् । बस्तीमा निर्माण गरिएका अधिकांश दुई कोठे पक्की घरसँगै अनिवार्य मानिने शौचालय नहुँदा समस्या वर्षौँदेखि जस्ताको तस्तै रहेको छ ।

एउटै पनि शौचालय नहुँदा महिला, बालबालिका तथा वृद्ध वृद्धाले दैनिक जीवनमा गम्भीर समस्या भोग्नुपरेको छ । स्थानीय बासिन्दा चन्द्रदेव माझीले सरकारले घर त बनाइदिएको तर शौचालयको व्यवस्था नगरेको गुनासो गर्नुभयो । करिब नौ वर्षअघि शौचालय निर्माणका लागि रिङ उपलब्ध गराइए पनि पर्याप्त जमिन अभावका कारण प्रयोगमा आउन नसकेको उहाँको भनाइ छ ।

बस्तीका अधिकांश परिवार सानो–सानो जमिनमा टहरा बनाएर बसोबास गर्दै आएका छन् । आफ्नै नाममा पर्याप्त जमिन नहुँदा शौचालय निर्माण गर्न नसकिएको स्थानीयको गुनासो छ । हरिन्दर माझीले गरिब दलित समुदायका लागि पक्की घर निर्माण सकारात्मक भए पनि शौचालय नहुँदा दैनिकी असहज बनेको बताउनुभयो ।

नेपाल सरकारले करिब एक दशकअघि नै रौतहट जिल्लालाई ‘खुला दिशामुक्त जिल्ला’ घोषणा गरे पनि दलित तथा विपन्न बस्तीमा शौचालय नहुनुले उक्त घोषणा कागजी मात्र भएको स्थानीयको आरोप छ ।

यस विषयमा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले शौचालय नबन्नुको मुख्य कारण पर्याप्त जमिनको अभाव रहेको बताउनुभयो । नगरपालिकाले वैकल्पिक उपाय खोज्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

खुला दिशाका कारण वातावरणीय प्रदूषण, सरुवा रोगको जोखिम र महिला तथा किशोरीको सुरक्षामा समस्या देखिएको स्थानीयको भनाइ छ । स्थानीय बासिन्दाले सामूहिक वा वैकल्पिक मोडेलमा शौचालय निर्माण गरी समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button