तपाईँ सुन्दै हुनुहुन्छः

संघीय बजेट नआउँदा नरैनापुर अस्पताल अलपत्र

बाँके। बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा स्वास्थ्य सेवा पहुँच अझै चुनौतीपूर्ण बनेको छ। सीमित पूर्वाधारका कारण सर्वसाधारणले समयमै उपचार नपाउने समस्या झेलिरहेका छन्। यही समस्याको समाधानका लागि सुरु गरिएको अस्पताल भवन निर्माण भने बजेट अभावका कारण अधुरै रोकिएको छ।

नरैनापुर गाउँपालिका–४ मा १५ शय्याको पालिकास्तरीय अस्पताल सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको भवन निर्माण ९० प्रतिशत पूरा भइसकेको छ। तर संघीय सरकारबाट बजेट निकासा नहुँदा अन्तिम चरणको काम रोकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार करिब १६ करोड ९७ लाख ५१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण सुरु गरिएको हो। “भवन लगभग तयार भइसकेको छ, तर बजेट नआउँदा काम रोकिएको छ,” उहाँले भन्नुभयो। बाँकी बजेट तत्काल निकासा गर्न उहाँले सम्बन्धित मन्त्रालयसँग आग्रह गर्नुभएको छ।

लेखा अधिकृत भरत बस्नेतले अस्पताल भवनको भौतिक तथा वित्तीय प्रगति ९० प्रतिशत पुगेको जानकारी दिनुभयो। “संघीय सरकारबाट निकासा नआएकाले निर्माण कम्पनीलाई अन्तिम किस्ताको भुक्तानी गर्न सकेनौँ, त्यसैले काम ठप्प भएको हो,” उहाँले बताउनुभयो।

नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सनबीच २०७९ चैत १० गते ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० असोज १० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो। तर रकम नपाउँदा काम रोकिएको निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज रोजन थापाले बताउनुभयो। उहाँले अन्तिम किस्ताको रकम सुनिश्चित भए एक महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सकिने बताउनुभयो।

स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरका नागरिकका लागि यो अस्पताल ठूलो आशाको केन्द्र थियो। तर बजेट अभावका कारण ९० प्रतिशत बनेको भवन अलपत्र पर्दा स्थानीयवासीको आशा अन्योलमा परेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button