तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिकाका १२ सय घरधुरीमा एक घर, एक धारा 

जुम्ला । हिमा गाउँपालिकाले करिब तीन वर्षको अवधिमा १२ सय बढी घरधुरीमा एक घर, एक धारा निर्माण गरेको छ । पालिकाका ७ वटै वडाका सबै बस्तीहरूमा माग र आवश्यकताका आधारमा स्वच्छ खानेपानी धारा निर्माण गरेको हो ।

हिमाको कुल जनसङ्ख्या १२ हजार १९१ र जम्मा घरधुरी सङ्ख्या २ हजार १७६ रहेको छ । हाल सम्म हिमा गाउँपालिकाले एक हजार २ सय २३ घरधुरीमा एक घर, एक धाराको पहुँच पुगेको हिमा गाउँपालिका सुस्वा परियोजना संयोजक सुमिता शाहीले बताउनुभयो ।

हिमाका आठ हजार ४१ जना नागरिक स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । अब हिमाका ९५३ घरधुरीका ४ हजार १५० जना नागरिक खानेपानी पहुँचबाट टाढा रहेका छन् । कुल जनसङ्ख्याको ठुलो हिस्सा स्वच्छ खानेपानी पहुँचमा पुगिसकेकाले बाँकी घरधुरीमा धारा निर्माण प्रक्रिया चलिरहेको छ । 

चार करोड पाँच लाख ६६ हजार लगानीमा १४ वटा बृहत् खानेपानी आयोजना निर्माण गरिएको छ । १४ वटा खानेपानी आयोजना निर्माणका लागि पाँच करोड ३५ लाख ४६ हजार विनियोजन गरिएको थियो । यद्यपि खर्च चार करोड मात्रै भएको थियो । 

पालिकाको प्रतिवेदन अनुसार हिमा–६ डाडाबाडामा ७६, वडा नं ५ बाजागाडमा १३६, वडा नं १ बड्कीमा १६६,  वडा नं ७ धाँचुगाउँमा ६६, वडा नं ७ कै मर्ची गाउँमा ६६, वडा नं ५ बाजागाड खोलामा २१ वटा घरधुरीमा एक घर, एक धारा निर्माण गरिएको छ ।

त्यस्तै वडा नं ३ को चेमा गाउँमा ४५, वडा नं २ को ओदीमा १६०, वडा नं १ दियारगाउँ तल्लो बस्तीमा ७०, वडा नं ७ को माथि कुडुमा ७२, वडा नं ६ को खलढुंगामा ६८, वडा नं १ को आर्चायलिहिका ९९, वडा नं वडा नं २ को कोइरेलीमा ४४ र वडा नं ५ बाजागाडमा १३६  गरी १२ सय २५ घरधुरीमा एक घर, एक धारा निर्माण गरिएको हो ।

खानेपानी विकासमा जिल्लाकै अग्रपंतीमा रहेर काम गरिरहेको हिमाले चालु आर्थिक वर्षमा मात्रै करिब तीन सय घरधुरीमा एक घर एक धाराको निर्माण गर्ने लक्ष्य राखिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार विगतमा खोलाको पानी पिउन बाध्य हिमाबासी घरघरमा धारा पुगेपछि उत्साहित छन् । 

बाजागाडकी छुमकली रोकाया विगतमा पानीका लागि खोलामा जानुपर्ने घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेकोमा अहिले निकै सुबिस्ता भएको बताउनुहुन्छ । घरमै धारा पुगेपछि समयको बचतसँगै तरकारीमा सिँचाइदेखि सरसफाईमा समेत उल्लेखीय सुधार भएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button