रौतहटका ११ सामुदायिक वनलाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण
रौतहट । आगलागी नियन्त्रणका लागि रौतहटका ११ वटा सामुदायिक वन उपभोक्ता समूहलाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको छ । सोमबार चन्द्रनिगाहपुरमा ग्रामीण विकास केन्द्रले अक्सफाम नेपालको सहयोगमा सञ्चालन भइरहेको जलवायु जोखिम तथा संकटासन्नताका लागि सामुदायिक उत्थानशील परियोजना अन्तर्गत ती सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष डा. पारस हुसेनले सामुदायिक वनमा लाग्न सक्ने आगो नियन्त्रणमा सामग्रीले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रत्येक समूहलाई करिब ५० हजार रुपैयाँ मूल्य बराबरका बेल्चा, टर्च, रेक, बाल्टिन, हेल्मेट, पञ्जा, ट्रक पेटी लगायत सामग्री प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक चिरञ्जीवी महतोले जानकारी दिनुभयो ।
चन्द्रपुर र गुजरा नगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक वन उपभोक्ता समूहलाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्री बुझ्दै सखुवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर केसीले हरेक वर्ष आगलागीबाट हुने क्षति न्यूनीकरणमा यसले ठूलो राहत पुग्ने बताउनुभयो ।
कार्यक्रममा ग्रामीण विकास केन्द्रका पदाधिकारी तथा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । चैत्र–वैशाखमा हुन सक्ने आगलागीलाई ध्यानमा राख्दै पूर्वतयारी स्वरूप सामग्री वितरण गरिएको फिल्ड सुपरिवेक्षक ज्योति फुयाँलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्