बाजुरामा चुनावी सरगर्मी: पुराना आश्वासन, नयाँ उम्मेदवार
बाजुरा। प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा बाजुरा लगायत सुदूरपश्चिमका गाउँ–गाउँमा राजनीतिक गतिविधि तीव्र बनेको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै काठमाडौँ, धनगढी लगायतका सहरमा मात्र सीमित रहँदै आएका नेताहरू यति बेला गाउँ झर्न थालेका छन् । लामो समयपछि नेताहरू गाउँमा देखिन थालेपछि स्थानीय तहमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ।

विभिन्न राजनीतिक दलका शीर्ष तथा स्थानीय नेताहरू गाउँ–गाउँमा पुगेर कार्यकर्ता भेटघाट, आमसभा, अन्तरक्रिया तथा जनसंवाद कार्यक्रम सञ्चालन गरिरहेका छन् । चुनावी कार्यक्रमका क्रममा नेताहरूले विगतका कमजोरी स्वीकार गर्दै आफू सुध्रिन तयार रहेको भन्दै नागरिकसँग एक पटक फेरि मौका दिन आग्रह गरिरहेका छन्। तर, हरेक निर्वाचनमा दोहोरिने पुरानै आश्वासनले नागरिक भने सशङ्कित देखिन्छन्।

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका प्रमुख राजनीतिक दलहरूले जिल्लामा बृहत् आमसभा तथा वडा स्तरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् । नेताहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधार विकासका विषयलाई मुख्य एजेन्डा बनाएर जनतासँग सघाउन अपिल गरिरहेका छन्। तर, निर्वाचनपछि नेताहरू फेरि गाउँ नफर्किने पुरानो अनुभवका कारण मतदाताहरू सचेत र आलोचनात्मक बन्न थालेका छन्।
यसैबिच, नेपाली काँग्रेस बाजुरा र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरिसकेका छन्। पार्टीभित्र आन्तरिक छलफल तथा बैठकपछि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको जनाइएको छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी बाजुराले पनि केन्द्रबाट उम्मेदवार सिफारिसका लागि परिपत्र प्राप्त भइसकेको जानकारी दिँदै केही दिनभित्रै उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउने तयारी भइरहेको जनाएको छ।
राजनीतिक दलहरूले उम्मेदवार छनोटसँगै सङ्गठन सुदृढीकरण, मतदाता परिचालन तथा चुनावी रणनीति बनाउन थालेका छन्। । यसले गर्दा लामो समय शान्त देखिएका गाउँहरूमा पुनः राजनीतिक सरगर्मी बढेको छ।
स्थानीय बासिन्दाहरू भने यस पटक नेताहरूको गतिविधिलाई नजिकबाट नियालिरहेका छन्। चुनावको समयमा मात्र देखिने नेताहरूले यस पटक कति प्रतिबद्धता पूरा गर्छन् भन्ने चासो जनतामा बढेको छ।
निर्वाचन मिति नजिकिँदै जाँदा बाजुरामा राजनीतिक प्रतिस्पर्धा अझ चर्किने देखिन्छ। दलहरूबिचको चुनावी प्रचार–प्रसार र उम्मेदवार चयनको प्रक्रियाले जिल्लाको राजनीतिक वातावरण थप तात्ने सङ्केत देखिएको छ।








प्रतिक्रिया राख्नुहोस्