सञ्चार मन्त्री खरेलद्वारा ३० उपलब्धि सार्वजनिक
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले पदबहाली गरेको तीन महिनाको अवधिमा भएका मन्त्रालयगत उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।

मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो ।
सञ्चार मन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वर्ल्डको शुभारम्भ, स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थप र ओएण्डएम स्वीकृतका कामहरू भएको जानकारी दिनुभयो ।
यस्तै सञ्चार मन्त्री खरेलले दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेट तर्फ काठमाडौँ उपत्यकाका १९ वटा सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको बताउनुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशमा १५ वटा वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि,जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तार लगायतका कार्य सम्पन्न गरिएको पनि मन्त्री खरेलले बताउनुभयो ।
सञ्चार मन्त्री खरेलले जेन्जी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलन क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका उपलब्धिहरू सार्वजनिक गर्नुभयो ।
पत्रकार सम्मेलनमा सञ्चार मन्त्री खरेलले सरकार जेनजी आन्दोलनको मर्म अनुरुप सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि निर्मम रुपमा कार्य गर्दै अघि बढिरहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिनुहुँदै सञ्चार मन्त्री खरेलले सरकार समयसीमा भित्रै निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्नुहुँदै मुलुकमा निर्वाचनको वातावरण सहज बन्दै गएको पनि स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्