तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल

गण्डकी । रोजगारीका क्रममा विदेशका धेरै सङ्घर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको सङ्घर्ष र सफलताका कथा यतिखेर अरूका लागि पनि अनुकरणीय बनेको छ ।

खनाल आफ्नो निरन्तरको सङ्घर्षले अहिले आफू स्वरोजगार हुनुहुन्छ र अन्य धेरै जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी दिँदै आउनुभएको छ । श्रीमती विष्णुसहित छोराछोरीको साथ र सहयोगसँगै आफ्नो निरन्तरको सङ्घर्षकै कारण उहाँले बुर्तिबाङमा वर्तमानमा एकसाथ टाइगर होटेल रेस्टुरेन्ट एण्ड लज, ढोरपाटन क्याटरिङ तथा टेन्ट हाउस, कृष्ण डेरी उद्योग, मिष्ठान्न भण्डार एण्ड बेकरी उद्योग सञ्चालन गरिरहनुभएको छ ।

यी सबै व्यवसायमा प्रत्यक्ष रुपमा २० जनाले र व्यवसायलाई आवश्यक पर्ने दूध, मासु आदिका कारण अप्रत्यक्ष रुपमा ५० जनाले रोजगारी पाइरहेका उहाँले बताउनुभयो । पैँतालिस वर्षीय  खनालसँग रोजगारीको खोजीमा भौतारिनुभएको र भोगेका धेरै अनुभव छन् । आमा बुबाको एक्लो छोरा उहाँ बाल्यकालमा नै टुहुरो बन्नुभएको थियो ।

जन्मेको एक वर्षमा बुबा र दुई वर्षमा आमा गुमाएका उहाँलाई हजुरबुबा र हजुरआमाले नै दुःख कष्ट गरी पाल्नुभएको थियो । बिहे पछि दुई छोरी जन्मिसकेपछि भएको श्रीमतीको निधन धेरै पीडाकाबीच पनि आफूलाई सम्हाल्दै सङ्घर्ष गर्दा वर्तमानमा यी सफलता हासिल भएको उहाँले बताउनुभयो ।

पहिलो श्रीमतीको निधनपछि दोस्रो विवाह गरेका उहाँका पहिलो श्रीमतीबाट दुई छोरी र पछिल्लो श्रीमतीबाट दुई छोरा रहेका छन् । छोराछोरीले आफ्नो नियमित अध्ययन सकी सेवा, पेसा र व्यवसाय सम्हाल्न सक्ने भइसकेको उहाँले बताउनुभयो ।

विदेशमा रोजगारीका क्रममा पाएका हण्डर तथा ठक्करले पनि स्वदेशमा नै केही व्यवसाय गर्नुपर्छ भन्ने उहाँमा सोच आएको थियो । विसं २०५७ मा चैतमा रोजगारीकै क्रममा दुबई गएका खनाल तीन वर्ष त्यहाँ रोजगारी गरी फर्कनुभयो । 

त्यसपछि केही समय भैँसीपालन र खेती किसानी गरेका उहाँलाई २०६२ सालमा भने पुनः इराक जाने इच्छाले दलालका माध्यमबाट पुनः दुबई पुग्नुभएको थियो । तर दलालले इराक लान नसकेपछि उहाँ त्यही दुबईमा पाँच वर्ष बेलाली कम्पनीको पावर प्लान्टमा काम गर्नुभयो । 

त्यस समयमा अत्यधिक गर्मीमा आफूले काम गरेको अनुभव सुनाउँदै उहाँले त्यही काम गर्ने मानिसले साउदी लैजान्छ भनेर अन्तरवार्ता दिँदा अन्तरवार्तामा उत्तीर्ण भएको बताउनुभयो । “अन्तरवार्तामा पास त भइयो, भिसा र टिकट कम्पनीले दिने कुरा भयो”, उहाँले भन्नुभयो, “उता जाने भएपछि दुबईको खाइरहेको जागिर छाडेर २०६७ सालमा म मेडिकल गर्न नेपाल आएँ, तर मेडिकलका क्रममा समस्या देखिएसँगै मेरो त्यहाँ जाने सपना पनि चकनाचुर भयो ।”

जागिर पनि गएको अवस्था अर्को जागिरमा जान मेडिकलमा समस्या भएपछि त्यस समयमा आफू निकै बेचैन जस्तो बनेको उहाँले अनुभव सुनाउनुभयो । 

विदेश जानमा लागेको त्यो ठक्कर नै अन्ततः आफ्ना लागि व्यावसायिक सफलताको राम्रो माध्यम जस्तै बनेको उहाँले बताउनुभयो ।

खनालले त्यसपछि कुखुरापालन गर्न थाल्नुभयो । कुखुरा पालनमा पनि उहाँलाई सोचे जस्तो भएन । पुनः रु २५ लाख ऋण लाग्यो । ऋण लागेर आफूसँग पैसा नहुँदा त्यस क्रममा आफन्तले गरेको व्यवहार, ऋण नपत्याइएको अवस्था आदि अहिले पनि झल्झली सम्झना आउने उहाँको भनाइ छ ।

त्यसपछि उहाँले पुनःगाईपालन सुरु गर्नुभयो । गाई पालेर बजारमा दूध बिक्री गर्न थाल्दासमेत दूध बिक्री नभएको भन्दै दिउँसो १२ बजे फिर्ता आउने धेरै समस्यामा पनि त्यस क्रममा भोग्नुपरेको उहाँको भनाइ छ ।

बजारमा पठाएको दूध फर्कने थालेसँगै उक्त दूधलाई दही बनाएर सिट्ठी फुक्दै कुनै लाज नमानी बजारमा बिक्री गरेको बताउँदै उहाँले त्यस क्रममा डेरी खोलेर पनि रु पाँच लाखसम्म घाटा व्यहोर्नुपरेको दुःखेसो सुनाउनुभयो ।

त्यसपछि दूधबाट मिठाइ, कुराउनी, छुर्पी आदि बनाएर बिक्री गर्दै आफ्नो आय बढाउँदै गएकामा त्यसै जगमा बेकरी, क्याटरिङ, टेन्ट हाउस हुँदै होटेलसम्मको व्यवसायमा सफलता हासिल भएको उहाँले बताउनुभयो ।

व्यवसायमा परिवारको साथ र सहयोग पनि आवश्यक हुने बताउँदै खनालले सुरुमा पाँच वर्षसम्म बेकरी, क्याटरिङ, टेन्ट हाउस सञ्चालन गर्दा कुनै कर्मचारी नराखी घरपरिवारकै सदस्य मिलेर व्यवसाय धानेको जानकारी दिनुभयो । “अहिले भने मेरा यी सबै व्यवसायमा घर परिवारका सदस्यबाहेक अन्य २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो, “मेरा व्यवसायमा चाहिने दूध, माछा मासु आदिका लागि झण्डै ५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।”

निरन्तरको सङ्घर्ष र इमानदार प्रयास भएमा रोजगारीका लागि विदेश नै जानुपर्ने अवस्था नरहेको बताउँदै उहाँले यही बसेर धेरै गर्न सकिन्छ भन्ने आफू स्वयं उदाहरण भएको सुनाउनुभयो । हामीले गर्ने सबै कुरामा सफलता नमिले पनि निरन्तर लागिरहेमा अन्ततः सफलता हासिल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुःख र सङ्घर्ष हरेक मानिसको जीवनमा हुन्छ, आत्तिनु हुँदैन आफूमा रहेको आँटलाई विश्वास र मेहनत गर्नुपर्छ, सफल पक्कै भइन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button