तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

रौतहट। रौतहटको चन्द्रपुर–गौर सडकखण्डको बालचनपुरमा शनिबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार, करिब साढे ७ बजे गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको ट्याक्टरले प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक गढीमाई–४ सुन्दरपुर निवासी करिब ५० वर्षीय प्रमोद साहको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा सवार अर्का ६५ वर्षीय जोगेन्द्र हजरा पासवान घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि न्युरो अस्पताल वीरगञ्जतर्फ रिफर गरिएको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्, तर घटनामा संलग्न दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले फरार चालकको खोजतलाससहित थप अनुसन्धान जारी राखेको छ।

घटना जानकारी पाएलगत्तै प्रहरी निरीक्षक दिनेश थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button