तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा तीनदिने क्रस–बोर्डर टुरिजम कन्क्लेभ सुरु

बाँके। नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यले नेपालगञ्जमा शनिबारदेखि तीनदिने ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’ सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको आयोजनामा तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको कन्क्लेभमा नेपाल र सीमावर्ती भारतीय सहरका पर्यटन व्यवसायी, टुर अपरेटर, होटल व्यवसायी र पत्रकारहरूको सहभागिता छ। कन्क्लेभमार्फत दुई देशबीच पर्यटन सहकार्य विस्तार, व्यापारिक साझेदारी प्रवर्द्धन तथा सीमापार आवागमनमा देखिएका समस्या समाधानका उपाय खोज्ने अपेक्षा गरिएको छ।

कन्क्लेभको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका हुन्। उनले नेपालगञ्ज धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटक आकर्षणका लागि स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच सहकार्य आवश्यक रहेको बताए।

नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले उत्तर प्रदेशलाई लक्षित योजनाबद्ध गतिविधि सञ्चालन गर्न सके लुम्बिनीसहित नेपालका अन्य धार्मिक र सांस्कृतिक गन्तव्यमा ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिने बताए।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पश्चिम नेपाल भित्रिने अधिकांश पर्यटक नेपालगञ्ज नाकाबाटै प्रवेश गर्ने गरेको उल्लेख गर्दै भन्सार, यातायात परमिट, भारतीय मुद्रा बोकेको विषयलगायतका समस्याले पर्यटकलाई असहज बनाइरहेको बताए। उनले ती समस्या समाधानका लागि समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

सहभागीहरूले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी र अयोध्यालाई जोडेर धार्मिक पर्यटन सर्किट निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।

कन्क्लेभको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा छलफल भएको थियो। छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, पूर्व सांसद धवल शमशेर राणा, बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसी तथा नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल सहभागी थिए।

छलफलमा सीमा क्षेत्रमा अनावश्यक कडाइ, व्यवहारगत समस्या र लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटक निरुत्साहित भइरहेको विषय उठान गरिएको थियो। वक्ताहरूले नेपालगञ्जलाई ट्रान्जिट सहर मात्र नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हबका रूपमा विकास गर्न व्यवहारिक र उदार प्रोटोकल आवश्यक रहेको बताए।

भारतीय पक्षका सहभागीहरूले नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्न सुझाव दिएका छन्। प्रहरी उपरीक्षक जिसीले पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न प्रतिबद्धता जनाउँदै सीमा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका सिइओ जोशीले बाँके र नेपालगञ्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अन्तरदेशीय कार्यक्रमले प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपाललाई वेडिङ, वेलनेस र वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्यका रूपमा अघि बढाउन सकिने धारणा राखे।

करिब ४० जना भारतीय टुर अपरेटरको सहभागितामा आयोजित कन्क्लेभमा ३२ वटा स्टल राखिएका छन्। कार्यक्रममा बी–टु–बी सत्र, अनुभव आदान–प्रदान, नीतिगत छलफल, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत समावेश गरिएको छ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटन प्रवर्द्धनमा कन्क्लेभ प्रभावकारी प्लेटफर्म बन्दै गएको बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button