तपाईँ सुन्दै हुनुहुन्छः

सुर्तीजन्य पदार्थका कारण वर्षेनी ४० हजार बढीको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक

बागलुङ । नेपालमा सुर्तीजन्य पदार्थका कारण वर्षेनी करिब ४० हजार बढीको ज्यान जाने गरेको पाइएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कर कोषको सचिवालयले शुक्रवार बागलुङमा आयोजना गरेको सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव विकाश देवकोटाले सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण ३९ हजार दुई सय जनाको वर्षेनी ज्यान जाने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 

उहाँले नेपालमा नसर्ने रोगको प्रमुख कारकतत्व सुर्तीजन्य पदार्थ रहेको बताउनुभयो । धूम्रपान गर्नेहरूमा उच्च रक्तचाप, सुगर, क्यान्सर श्वासप्रश्वास तथा मुटु रोगको जोखिम रहेको बताउनुभयो ।

सुर्तीजन्य पदार्थ बाट सङ्कलित बजेट स्वास्थ्य मन्त्रालयले विशेष गरी क्यान्सर रोगीको उपचारमा खर्च गर्ने गरेको जानकारी दिनुभयो । धूम्रपान नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ कम उत्पादन गर्ने र जनचेतनाको लागि सबै सँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्त कुमार श्रेष्ठले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाइएका  नीति नियमको पूर्णपालना गर्दै यसको प्रभावकारी अनुगमन गर्नुपर्ने बताउनभयो । 

सो अवसरमा  प्रमुख जिल्ला अधिकारी कुमानसिहं गुरुङ र प्रदेश जनस्वास्थ्य मन्त्रालयका सचिव विश्वबन्धु बगालेले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थको सेवनले आर्थिक, सामाजिक, शारीरिक र मानसिक रूपमा गम्भीर क्षति पुर्‍याउने बताउनुभयो । यस्तै अर्का सहजकर्ता वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त बहादुर केसीले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि वर्षेनी ४५ अर्ब भन्दा धेरै खर्च हुने गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न सघंसंस्थाका प्रतिनिधि लगायतले सहभागिता जनाएका थिए । कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको  सञ्चालन र जनस्वास्थ्य अधिकृत समिता घिमिरेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button