बाक्लो कुहिरो र शीतलहरका कारण नेपालगन्ज विमानस्थलका सबै उडान अवरुद्ध
बाँके। बाक्लो शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडान पूर्ण रूपमा अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ।

शुक्रवार बिहानैदेखि चलेको शीतलहर र कुहिरोका कारण विमानस्थल क्षेत्रमा ५०० देखि ७०० मिटर मात्र भिजिबिलिटी कायम रहेकाले आवश्यक मापदण्ड नपुगेपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको हो। भिजिबिलिटी न्यून हुँदा नेपालगन्जबाट बिहान र दिउँसोसम्म कुनै पनि उडान हुन नसकेको बताइएको छ।
विमानस्थल टावरका अनुसार जहाज उडाउन न्यूनतम एक हजार मिटर भिजिबिलिटी आवश्यक पर्ने र जहाज अवतरणका लागि कम्तीमा एक हजार ६०० मिटर भिजिबिलिटी हुनुपर्ने प्रावधान छ। तर शुक्रवार दिउँसो १२ बजेसम्म पनि भिजिबिलिटी ७०० मिटरभन्दा माथि नपुगेकाले उडान सुरु गर्न नसकिएको टावरले जानकारी दिएको छ।
विमानस्थल बन्द रहँदा नेपालगन्जबाट पहाडी जिल्लातर्फ बिहान हुने सबै उडान रद्द गरिएका छन् भने काठमाडौँका लागि हुने सबै उडान अवरुद्ध भएका छन्। काठमाडौँ–नेपालगन्ज नियमित उडान तालिकाअनुसार बिहान ८ बजे जहाज उड्ने भए पनि विमानस्थल बन्द रहेकाले जहाज उड्न नसकेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालगन्ज विमानस्थल खुलेपछि मात्र काठमाडौँबाट उडान सञ्चालन गरिनेछ।
सामान्य अवस्थामा नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दै आएका छन्। त्यसै गरी नेपालगन्जबाट पहाडी जिल्लातर्फ बिहानका समयमा बढी उडान हुने गरेको थियो।
हवाई उडान अवरुद्ध भएपछि काठमाडौँ तथा पहाडी जिल्लामा यात्रा गर्न लागेका यात्रुहरू समस्यामा परेका छन्। टिकट लिएका अधिकांश यात्रुहरू विमानस्थलमै जहाजको प्रतीक्षामा बस्न बाध्य भएका छन्। पछिल्ला केही दिनयता शीतलहर र कुहिरोका कारण बिहान हुने उडानहरू प्रभावित हुँदै आएका थिए भने शुक्रवार दिउँसोसम्म पनि कुनै उडान हुन नसकेको विमानस्थलले जनाएको छ।
यसैबिच बाक्लो शीतलहर र कुहिरोका कारण बाँके जिल्लामा चिसो अत्यधिक बढेको छ, जसले जनजीवन प्रभावित बनेको छ। चिसो बढेसँगै अस्पतालहरूमा ज्वरो, रुघाखोकीलगायतका बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालहरूले जनाएका छन्।








प्रतिक्रिया राख्नुहोस्