बाक्लो हुस्सु र शीतलहरले मधेसको जनजीवन प्रभावित
रौतहट। आज बिहानैदेखि सुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण रौतहटसहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ।

अत्यधिक चिसो, कुहिरो र शीतलहरका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको हो ।
शुक्रवार बिहानैबाट आकाश ढाकिने गरी लागेको बाक्लो हुस्सुका कारण दृश्यता अत्यन्तै कम हुँदा मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन्। चिसो बढेसँगै वृद्ध वृद्धा, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको विभिन्न खण्डमा बाक्लो कुहिरोका कारण सवारी आवागमन समेत प्रभावित बनेको छ।

शीतलहर र बाक्लो हुस्सुले विशेषगरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका निम्न आय वर्गका नागरिकको जीवन थप कठिन बनेको छ । चिसोका कारण काममा निस्कन नसक्दा उहाँहरूको आम्दानी प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।
वृन्दावन नगरपालिका–२ का स्थानीय बासिन्दा बिगु पटेलले भन्नुभयो “चिसोका कारण मजदुरी गर्न जान निकै समस्या भएको छ, बिहानैबाट यति धेरै चिसो भयो काममा जान सकिँदैन, काम नगर्दा घर खर्च चलाउनै गाह्रो हुनेभयो। ”

यता चिसोबाट जोगिन सर्वसाधारणलाई न्यानो लुगा लगाउन, आगो तथा ताप साधन सुरक्षित रूपमा प्रयोग गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोदप्रसाद कुर्मीले आग्रह गर्नुभएकाे छ।








प्रतिक्रिया राख्नुहोस्