तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प छैन : मन्त्री खनाल 

रुपन्देही । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । 

उहाँले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताउनुभयो ।

‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन, यो अवस्थामा निर्वाचनको विकल्प छैन । यसका लागि धेरै दलहरू र छिमेकी देशहरू सकारात्मक छन्’ उहाँले भन्नुभयो ‘अर्को विकल्प सोच्नु अर्को अनिश्चयको वातावरण बनाउनु हुनेछ, यसमा सबै दलको ध्यान जाओस् ।’

अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताउनुभयो । ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा सञ्चिति बढेको छ, वित्तीय सत्तामा पूँजी सञ्चिति बढेको छ तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो ।’ उहाँले भन्नुभयो–‘अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगेको छ, जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि बिस्तार भएका छन् ।’ उहाँले बुटवल पहिलेबाट औद्योगिक हब भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने बताउनुभयो । पुस ३ गतेदेखि १७ गतेसम्म लाग्ने यो प्रदर्शनीमा ५ सय स्वदेशी उद्योग मात्र रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे, पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डे, बुटवलका मेयर खेलराज पाण्डे, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही पत्रकार महासङ्घका अध्यक्ष दिनेश पाण्डेलगायतले धारणा राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार ०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत हुनुभएको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button