तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद विकास प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री यादव

रौतहट । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले खेलकुद विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले क्रिकेटसहित विभिन्न खेलको लोकप्रियता बढ्दै गइरहेकाले मधेश प्रदेशलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । 

रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम खेल मैदानमा सञ्चालन भइरहेको चन्द्रपुर प्रिमियर लिग (सीपीएल) को दोस्रो संस्करणको अवलोकन गर्दै मुख्यमन्त्री यादवले खेल मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री यादवले आफू भौतिक पूर्वाधार विकास मन्त्री रहँदा जनकपुर–१४ रजौलामा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको जानकारी दिनुभयो । उक्त रङ्गशालाको निर्माण कार्य छिट्टै अघि बढाइने उहाँले बताउनुभयो ।

खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सक्षम बनाउने भन्दै मुख्यमन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र समुदायको सहकार्यमा यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button